ओलीको दाबी– एमालेलाई पाँच दल, सात दल चाहिँदैन, एक्लै काफी छ

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ पाँचदलीय गठबन्धन मिलेर नआए आगामी निर्वाचनमा आफ्नो पार्टीको सामुन्ने पर्न पनि नसक्ने दाबी गरेका छन् । ओलीले एमाले मात्रै जनताको प्रतिनिधि भएको दाबी गर्दै आगामी निर्वाचनमा अन्य कुनै पनि दलसँग गठबन्धन गरिरहनुनपर्ने जिकिर गरे ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको फिक्कलमा आइतबार आयोजित सभामा ओलीले देश बनाउन पुग्ने उज्यालो सूर्य आफ्नो पार्टीसँग भएको र यसैकारण ठूल्ठूला आमसभा गरेर हिँड्न सकिएको बताए । 

उनले पाँचदलीय गठबन्धनले एमालेले जस्तो आमसभा गर्न नसक्ने पनि बताए । एमाले एक्लैसँग नीति, विचार र व्यवहार देश बनाउन पर्याप्त रहेको ओलीको जिकिर छ । उनले भने, ‘पाँचदलीय गठबन्धन नमिलीकन त एमालेको सामुन्ने पर्न पनि सक्दैनन् । यत्रो आमसभा पाँच दलले गर्न सक्दैन नि । अरू खोज्नुपर्छ उनीहरूले । एमाले मात्रै हो, सिंगो जनताको प्रतिनिधि । यसलाई पाँच दल, सात दल चाहिँदैन । एउटै दल एमाले काफी छ । सूर्यलाई मोर्चाबन्दी गरिरहन आवश्यक छैन । सूर्यसँग मोर्चाबन्दी गरेर लडिरहनुपर्ने आवश्यकता हुँदैन ।’

ओलीले खनाललाई लक्षित गर्दै एमालेको गुण र नुन बिर्सनेहरूलाई आगामी निर्वाचनमा जनताले जवाफ दिनुपर्ने बताए । आगामी निर्वाचनमा एमालेको बाकस खाली गरिदिने खनालको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले अर्काले लगाइदिएको जुंगामा ताउ लगाएर बाकस खाली गर्छु भन्न नसुहाउने बताए । ओलीले भने, ‘विचार गर्नुस् कति साह्रो लाज नभएकाहरू । कमसेकम एमालेले टाँसी दिएको जुंगा खौरिएर छोडनुपर्छ नि । एमालेले लगाइदिएको जुंगामा ताउ लगाउने अहिले अनि एमालेको बाकस खाली गर्छु भन्ने । बाकस कसको खाली हुन्छ ? म भन्दिनँ । तपाईंहरूले आगामी वैशाख ३० गतेको निर्वाचनमार्फत जवाफ दिनुपर्छ ।’

कार्यक्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङले जनतालाई धोका दिएर दुईतिहाइ नजिकको कम्युनिस्ट नेतृत्वको सरकारलाई हटाएर जानेहरूलाई आगामी निर्वाचनमा जनताले देखाइदिने बताए ।

सुझावित समाचार