हामी अरू दलसँग तालमेल गर्न जाने होइन, अरू दल हामीसँग तालमेल गर्न आउनुपर्छ : प्रचण्ड (भिडियोसहित)

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीसँग तालमेलका लागि अन्यदल आउनुपर्ने बताएका छन् । पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एक महिनाभित्रमा अन्य दलहरू माओवादीसँग तालमेल गर्न आइपुग्ने दाबी गर्दै उनले भने, ‘हामी अरू दलसँग तालमेल गर्न जाने होइन । अरू दल हामीसँग तालमेल गर्न आउँछन् । हेर्नुहोला, एक महिनाभित्रमा हामीसँग सहकार्य गर्न अरू दल आउनुपर्ने बाध्यता हुन्छ ।’ 

यो देशको परिवर्तनको बाहक माओवादी नै हो भन्ने चेतना आउँदै छ । गणतन्त्र, संघीयता र परिवर्तनको रक्षा कसले गर्यो भनेर जनताले हेरिरहेको बताउँदै उनले भने, ‘एकपटक माओवादीलाई हेर्नुपर्छ र विश्वास गर्नुपर्छ भन्ने जनमत बढिरहेको छ ।’ 

देशभरको सबै स्थिति हेर्दा माओवादी नै पहिलो पार्टी बन्नेतर्फ उन्मुख रहेको उनले बताए । अरूको बैसाखी टेकेर होइन माओवादी आफ्नै खुट्टामा टेकेर निर्वाचनमा जाने योजनामा रहेको उनको भनाइ छ । 

अहिले नै एमालेसँग गठबन्धन भइहाल्छ नभनेको, तर  राजनीतिमा असम्भव केही हुन्न भनेर आफूले भनेको प्रस्टीकरण दिएका उनले एमाले अध्यक्ष केपी ओलीलाई र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको वृत्तान्त सुनाए । 

‘राजनीतिमा असम्भव केही हुँदैन भनेको हुँ । एमालेसँग अहिले नै सहकार्य भइहाल्छ भनेको होइन,’ प्रचण्डले भने,  ‘कांग्रेसका केही नेता, खास गरी एकजना गुरुङ नेता छन् नि, हो उनले हात्तीको कानमा के–के भनेर भने नि ! हो, त्यसको सन्दर्भमा मैले एमालेसँग पनि सहकार्य हुन सक्छ भनेको हुँ ।’ 

स्थानीय तहको चुनावमा गठबन्धनको बैसाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने उनको भनाइ छ। अध्यक्ष प्रचण्डले संविधान भंग गर्नेजस्तो प्रतिगमनलाई रोकेर देशलाई दुर्घटनाबाट जोगाउन सफल भएको बताए।

आफूहरूले संसद् विघटनलाई स्वीकार गरेको भए देश अँध्यारो सुरुङतर्फ प्रवेश गरिसकेको हुने उनले दाबी गरे। एमसिसीका विषयमा माओवादीभित्र केही विवाद रहेको स्वीकार गर्दै उनले यस विषयमा निर्वाचनपछि छलफल गरिने बताए।

See More On

सुझावित समाचार