झालाई महामूर्खको उपाधि

शनिबार, ५ चैत, २०७८
डिजिटल संस्करण

जनकपुरधामको मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेशका नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झालाई प्रदान गरेको छ । मिथिलाकाला सांस्कृतिक क्षेत्रमा लामो समयदेखि कार्यरत रहेको मिनापले होली पर्वको पूर्वसन्ध्यामा एक कार्यक्रमबीच उपाध्यक्ष झालाई महामूर्खको उपाधि दिएको हो । होली पर्वअघि हुने महामूर्ख सम्मेलनमा सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई मिनापले महामूर्खको उपाधि दिने गरेको पूर्वअध्यक्ष सुनिल मलिकले बताएका छन् । 

त्यसैगरी यस वर्ष  मधेस प्रदेश सांसद मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका जनकपुरधाम नगर उपसभापति राकेशविक्रम साहलाई टिटही, मिथिला चित्रकार मनीषा साहलाई गन्हकी र  मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख उपाधि प्रदान गरिएको  छ । 

नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया र  अधिवक्ता सुदिप कोइरालाले गोबरगणेशको उपाधि पाएका छन् । त्यसैगरी, मिनापले  गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख र वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट उपाधि दिइएको मलिकले बताएका छन् । 

जनकपुरधाममा मिथिला चित्रकलालाई सुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझक्कड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दनको उपाधि दिइएको छ ।

समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई मिनापले ०६१ देखि नै ‘महामूर्ख’को उपाधि प्रदान गर्दै आएको छ । मिनापले महामूर्खका साथै विभिन्न पदवीबाट समाजका अगुवाहरूलाई सम्मान गर्ने गरेको छ । यसअघि मैथिली कवि नरेश ठाकुर, एमालेका नेता शीतल झा, राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार रामभरोष कापडीलगायतलाई मिनापले महामूर्खको उपाधि दिइसकेको छ ।

सुझावित समाचार