आगामी चुनावमा कलमले कमाल गर्छ, हाम्रो खिसिट्युरी गर्नेको हरिबिजोग हुन्छ : अध्यक्ष नेपाल

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी चुनावमा आफूहरूलाई खिसिट्युरी गर्नेहरूको हरिबिजोग हुने दाबी गरे।

चुनाव चिह्न कलमले कमाल देखाउन सक्नुपर्ने भन्दै उनले पार्टीका नेता, कार्यकर्तालाई संगठन निर्माण, परिचालन र प्रचारप्रसारको काममा केन्द्रित हुन निर्देशन दिए।

‘सत्य र न्यायको प्रतीकको रूपमा रहेको कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा हामी पुगौँ। जनताको माझमा पार्टीको प्रचारप्रसार गर्ने काममा, संगठन बनाउने काममा, जनपरिचालन गर्ने काममा लागिपरौँ भन्दै म सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई यस अवसरमा आह्वान गर्दै यो पार्टीको सामर्थ्य चुनावको मैदानमा देखिनेछ। विगत दुईपटकको चुनावमा देखिएको छ। राष्ट्रिय सभाको पहिलो चुनावमा पनि देखाएका छौँ हामीले । राष्ट्रिय सभाको दोस्रो चुनावमा पनि देखाएका छौँ हामीले। अब स्थानीय तहको चुनावमा हाम्रो सामर्थ्य देखिनेछ। र, हाम्रा खिसिट्युरी गर्ने तत्वहरूको हरिबिजोग त्यही वेलामा थाहा हुनेछ,’ उनले भने।

सुझावित समाचार