माओवादीले बनायो २८ चुनावी कमान्ड

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण
माओवादीले बनायो २८ चुनावी कमान्ड

बुधबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमका सहभागी

केन्द्रबाट अपिल जारी गर्ने, पालिकास्तरमै घोषणापत्र बनाउने

माओवादीले ३० वैशाखमा हुने स्थानीय तह चुनाव परिचालनका लागि २८ कमान्ड निर्माण गर्दै पालिकास्तरमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने गरी चुनावकेन्द्रित दुई महिने योजनालाई अन्तिम रूप दिएको छ । पार्टीपंक्तिलाई एकीकृत रूपमा परिचालनका लागि माओवादीले दुईदेखि चार जिल्ला जोडेर केन्द्रीय कमान्ड बनाएको हो ।

सम्बन्धित प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नेमध्ये ‘सिनियर’ नेताले कमान्डको नेतृत्व सम्हाल्ने केन्द्रीय कार्यालयले जनाएको छ । जसअनुसार प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, इलामको पहिलो, झापा, मोरङ र सुनसरीको दोस्रो, धनकुटा, तेह्रथुम र संखुवासभाको तेस्रो, भोजपुर, खोटाङ र उदयपुरको चौथो र सोलुखुम्बु र ओखलढुंगाको पाँचौँ कमान्ड बनाइएको छ । मधेस प्रदेशमा दुई–दुईओटा जिल्लालाई जोडेर चारओटा कमान्ड बनाइएको छ । जसअनुसार सप्तरी र सिराहाको पहिलो, धनुषा–महोत्तरीको दोस्रो, सर्लाही–रौतहटको तेस्रो र बारा–पर्साको चौथो कमान्ड बनाइएको छ ।

बागमती प्रदेशमा चितवन र मकवानपुरको पहिलो, धादिङ, नुवाकोट र रसुवाको दोस्रो, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकको तेस्रो, सिन्धुली र रामेछापको चौथो र भक्तपुर, काठमाडौं र ललितपुरको पाँचौँ कमान्ड बनाइएको छ । गण्डकी प्रदेशमा गोरखा, लमजुङ र मनाङको एउटा कमान्ड, तनहुँ–नवलपरासीपूर्वको दोस्रो, स्याङ्जा, कास्की र पर्वतको तेस्रो र बाग्लुङ, म्याग्दी र मुस्ताङको चौथो कमान्ड बनाइएको छ ।

लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तुलाई पहिलो कमान्डमा राखिएको छ । पाल्पा, गुल्मी र अर्घाखाँचीलाई दोस्रो, प्युठान, रुकुम पूर्व र रोल्पालाई तेस्रो र दाङ, बाँके र बर्दियालाई चौथो कमान्डमा राखिएको छ । कर्णाली प्रदेशमा भने तीनओटा कमान्ड बनाइएको छ । सुर्खेत, दैलेख र सल्यानको एउटा कमान्ड, जाजरकोट, डोल्पा र रुकुम पश्चिमको दोस्रो तथा कालिकोट जुम्ला, मुगु र हुम्लाको तेस्रो कमान्ड बनाइएको छ । सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी र बाजुराको पहिलो, बैतडी, बझाङ र दार्चुलाको दोस्रो तथा कैलाली कञ्चनपुर र डडेलधुराको तेस्रो कमान्ड माओवादीले बनाएको छ ।

माओवादीले चुनावी योजनाअन्तर्गत केन्द्रबाट जनताका नाममा अपिल प्रकाशन गर्ने, तर चुनावी घोषणापत्र भने पालिकास्तरमै निर्माण गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । माओवादीका उम्मेदवारलाई मतदान गर्नुपर्ने कारण खुलाएर केन्द्रले आममतदाताका लागि अपिल प्रकाशन गर्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए ।

त्यस्तै, स्थानीय पालिकाविशेषका आधारमा घोषणापत्र र गर्नुपर्ने काम, गरिएका कामहरूको बारेमा अलग–अलग चुनावी घोषणापत्र बनाएर सार्वजनिक गरिने माओवादीले जनाएको छ । स्थानीय चुनावका लागि माओवादीले ‘गाउँ, नगर घर–घर जाऔँ, माओवादी केन्द्रलाई विजयी गराऔँ,’ ‘माओवादीको नीति र नेतृत्व, संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व’को नारा तय गरेको छ ।

दुई महिने अभियानमा २८ ओटा कमान्डले संगठन परिचालन टिम गठन गरी घरघरमा पार्टी सदस्य र टोलटोलमा संगठन बनाउने माओवादीको केन्द्रीय योजना छ । संगठन निर्माणमा वाइसिएललाई पनि परिचालन गर्ने, सबै तहका कमिटीलाई पूर्णता दिने, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी र परिषद्हरू गठन गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहमा आवश्यक विभागहरू बनाउने, संगठित सदस्यलाई पार्टी कमिटीमा संगठित गर्ने र नयाँ पार्टी सदस्यता वितरण गर्नेसम्मको योजना माओवादीले बनाएको छ ।

गठबन्धनको भरमा  चुनाव जित्ने भ्रम निकालौँ : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको चुनाव आफ्नै बलबुतामा जित्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रचण्डले चुनाव माओवादीका लागि जीवनमरणको सवाल भएको र गठबन्धनको भरमा जितिन्छ भनेर दिमागमा नराख्नसमेत आग्रह गरे ।

‘गठबन्धनको भरमा चुनाव जितौँला भन्ने भ्रम दिमागबाट आजै निकालिदिनुस् । आफ्नो तागत र आफ्नै बलमा चुनाव लडौँ, जसरी पनि चुनाव जित्ने गरेर अघि बढौँ,’ माओवादीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षणमा प्रचण्डले भने ।

गठबन्धनको भरमा चुनाव जितौँला भन्ने भ्रम दिमागबाट आजै निकालिदिनुस् । आफ्नो तागत र आफ्नै बलमा चुनाव लडौँ, जसरी पनि चुनाव जित्ने गरेर अघि बढौँ ।

प्रचण्डले चुनावलाई ‘ब्याटल’को रूपमा बुझ्न निर्देशन दिएका छन् । ‘विगतमा लडाइँमा जाँदा हामी कसरी जान्थ्यौँ, त्यसै गरी यो चुनावमा जान जरुरी छ । यो चुनाव सामान्य हुनेछैन । यसलाई ब्याटलकै रूपमा बुझ्नुहोला ।’

माओवादीलाई स्थानीय तह र अबका चुनावमा परास्त गर्न धेरै शक्ति लागेको प्रचण्डको दाबी थियो । दुई दलीय प्रणालीमा जाने बहस त्यसैको रूपमा प्रस्तुत भएको उनको भनाइ छ । केही दिनअगाडि एमाले महासचिव शंकर पोखरेलले मुलुकमा दुई दल भए पुग्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

पहिलो संविधानसभामा जनयुद्धको रापतापसहित चुनावमा जाँदा सफलता प्राप्त भएको उनले स्मरण गरे । त्यस्तै जोसका साथ अहिलेको स्थानीय चुनावमा होमिन प्रचण्डको कार्यकर्तालाई निर्देशन छ । सेटिङ गरेर चुनाव जित्न कांग्रेस एमाले नै सिपालु भएको उनको भनाइ छ ।

‘आक्रामक ढंगले प्रस्तुत हुन सकियो भने चुनावमा सफलता प्राप्त गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘हामी सेटिङ मिलाउन जान्दैनौँ, तर सेटिङ मिलाउनेको सातो  लैजान जान्दछौँ । इँटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ ।’

संसद् विघटनविरुद्धको आन्दोलनको सफलताले ऊर्जा दिएको उनले बताए । उनले अबका दुई महिना सम्पूर्ण तागत चुनावलाई लगाउन आग्रह गरे । उनले जनतासँग कमजोर भएको सम्बन्ध सुदृढीकरण गर्ने गरी गाउँ–गाउँ जान कार्यकर्तालाई निर्देशन दिए ।

जनताको सेवा गर्नेभन्दा पनि आफ्नै सेवा गर्नेतर्फ केन्द्रित हुनु दुर्भाग्य भएको उनको भनाइ छ । आत्मसमीक्षासहित चुनावमा जान उनले आग्रह गरे । देशभर प्रशिक्षणका क्रममा रिपोर्ट लिँदा पार्टी कतै कमजोर नभएको देखिएको उनको भनाइ छ ।

ओलीप्रति आक्रोश
प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकाहीँ दिक्क लाग्ने गरेको पनि सुनाए । ‘संसद् विघटन ओलीको एकल निर्णय नभई अन्तर्राष्ट्रिय शक्तिको समेत डिजाइनमा थियो,’ उनले भने, ‘पार्टी एकताको समयमा ओलीलाई नायक बनाउन खोजियो, तर उनी खलनायक बनेर निस्किए,’ प्रचण्डले भने, ‘एकता प्रक्रिया नै नटुंगिँदै पार्टी विभाजन हुनु दुर्भाग्य थियो । प्रतिगमनको खतरा अझै टरिसकेको छैन ।’

See More On

सुझावित समाचार