जसपाले बनायो निर्वाचनकेन्द्रित कार्ययोजना

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

‘गाउँ–गाउँ, सहर–सहर जाऊँ, जसपालाई जिताऊँ, भ्रष्टाचार हटाऊँ, विकासलाई अघि बढाऊँ’ जसपाको चुनावी नारा तय, शीर्ष तीन नेता रहेको पार्टी ‘हेडक्वार्टर’ गठन

जनता समाजवादी पार्टीले निर्वाचनकेन्द्रित कार्ययोजना र कार्यविभाजन टुंग्याएको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले तीन सदस्यीय पार्टी ‘हेडक्वार्टर’सहितको कार्यविभाजन र निर्वाचन कार्ययोजनालाई अन्तिम रूप दिएको छ । 

बैठकले तत्काल अब निर्वाचनकेन्द्रित कार्यक्रम सुरु गर्ने योजना पनि बनाएको छ । ‘एकता र सामूहिक नेतृत्वतर्फ मुख्यालय निर्माण, स्थानीय तह निर्वाचन निर्देशिकाको टुंगो, निर्वाचन कार्ययोजना र तदनुरूपको केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विधान अधिवेशनको तिथि–मिति किटानसँगै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै केन्द्रीय समिति बैठक सकिएको छ,’ केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुवेदीले भने । 

बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी ‘हेडक्वार्टर’ गठन गरेको हो । पार्टी ‘हेडक्वार्टर’ले कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा आवश्यक निर्णय लिने बताइएको छ । 

अध्यक्ष यादवले एकल निर्णय गरेको भन्दै पार्टीमा विवाद भइरहेका वेला केन्द्रीय समितिले शीर्ष नेताहरूको पुनः कार्यविभाजन गरेको हो । पछिल्लो कार्यविभाजनले अध्यक्ष यादवको अधिकार कटौती भएको छ । बैठकले निर्वाचनमा वरिष्ठ नेता राईको हस्ताक्षर निर्वाचन आयोगमा प्रयोग गर्ने निर्णयसमेत गरेको जसपा कार्यकारिणी सदस्य सुवेदीले बताए । 

बैठकमा पेस गरिएको निर्वाचन निर्देशिकामा केन्द्रीय सदस्यले सुझाव पेस गरेका छन् । प्राप्त सुझाव समेटेर निर्देशिकालाई पूर्ण रूप दिइने सुवेदीले बताए । कार्यकारिणी सदस्य हिसिला यमी, सुवेदी र मनीष सुमन गरी तीनजनाले निर्वाचन निर्देशिका तयार पारेका थिए । निर्देशिकामा निर्वाचनका लागि नारा पनि तय गरिएको छ । जसपाले ‘गाउँ–गाउँ, सहर–सहर जाऊँ, जसपालाई जिताऊँ, भ्रष्टाचार हटाऊँ, विकासलाई अघि बढाऊँ’ भन्ने निर्वाचनको नारा बनाएको छ । 

निर्देशिकामा स्थानीय तहका उम्मेदवार छनोट गर्ने पद्धति तय गरिएको छ । जसअनुसार कुन तहमा उठ्ने हो, त्योभन्दा एक तह माथिको कमिटीले उम्मेदवारको टुंगो लगाउनेछ । वडा सदस्य र वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीले, गाउँपालिका र पालिका प्रमुख, उपप्रमुख प्रदेश कमिटीले टुंगो लगाउनेछ । महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार भने केन्द्रीय कार्यकारिणी र नवगठित हेडक्वार्टरले छान्ने गरी निर्देशिकामा मापदण्ड बनाइएको छ । उम्मेदवारको विषयमा विवाद भएमा पनि एक तह माथिका कमिटीले विवाद समाधान गर्ने निर्देशिकामा उल्लेख छ । 

‘केन्द्रबाट हुने गठबन्धनबाहेक स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल गर्न सक्ने गरी चुनावी तयारी गरिएको छ,’ सुवेदीले भने, ‘पार्टी कमिटीले छलफल गरेर तालमेलको विषय टुंगो लगाउन सक्छन् ।’ बैठकमा निर्वाचनअघि पार्टीमा बाँकी रहेको समायोजनको काम टुंगो लगाउन केन्द्रीय सदस्यले सुझाव दिएका छन् । १० चैतभित्र बाँकी समायोजनको काम टुंगो लगाउने जसपाले तयारी गरेको छ । 

See More On

सुझावित समाचार