रुसी स्थलसेना किभतर्फ अघि बढाउन युक्रेनमाथि हवाई आक्रमण तीव्र

एलभिभ सहरमा ३० क्षेप्यास्त्र प्रहार, पोल्यान्डनजिकको युक्रेनी सहरमा समेत क्षेप्यास्त्र आक्रमण

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

रुसी सेनाले आइतबार युक्रेनको महत्वपूर्ण पश्चिमी सहर एलभिभमा क्षेप्यास्त्र आक्रमण गरेको छ । एलभिभस्थित सैन्य अखडामा रुसी सेनाले ३० वटा क्षेप्यास्त्र बर्साएको युक्रेनले जनाएको छ । आक्रमणमा ३५ युक्रेनी मारिएको, एक सय ३४ घाइते भएको सो क्षेत्रका गभर्नरले बताएका छन् । युक्रेनी समयअनुसार बिहान पौने ६ मा भएको रकेट आक्रमणले याभोरिभ थर्किएको युक्रेनी सेनालाई उद्धृत गर्दै पश्चिमी समाचार माध्यमहरूले लेखेका छन् । 

पश्चिमी मुलुकहरूले नाटो मुलुक पोल्यान्डमार्फत युक्रेनमा भारी मात्रामा हलुका एवं प्रभावकारी हतियार पठाइरहेको सन्दर्भमा एलभिभमाथि रुसले क्षेप्यास्त्र दागेको हो । एलभिभमा केही दिनअघिदेखि अमेरिका, बेलायत र अन्य मुलुकबाट पनि सैन्य प्रशिक्षकहरू जम्मा भइरहेका थिए । तर, उनीहरू उक्त अखडामा थिए/थिएनन् भन्नेबारे स्पष्ट भएको छैन । 

रुसी सेनाले केही दिनदेखि राजधानी किभलाई चारैतर्फबाट घेरेर आक्रमण गरिरहे पनि कडा प्रतिरोधका कारण अघि बढ्न सकिरहेको छैन । रुसी सेना राजधानी किभमा हातहतियार आपूर्तिको शृंखला तोडेर युक्रेनी सेनाको मनोबल एवं प्रतिरोधलाई कमजोर बनाउने प्रयासमा छ । रुस युक्रेनमाथिको आक्रमणमा दृढ देखिएपछि केही दिनअघि मात्रै पोल्यान्ड युक्रेनलाई सैन्य विमानहरू दिने पूर्ववर्ती योजनाबाट पछि हटेको थियो । तर, यसबीच पनि अमेरिका, बेलायतलगायत पश्चिमी मुलुकबाट साना एवं प्रभावकारी हतियारहरू युक्रेनमा आपूर्ति भइरहेकै थियो । यही कारण रुसी विदेशमन्त्रीले पश्चिमी हतियारको कन्भोय रुसी सेनाको स्वाभाविक निसाना हुने चेतावनी दिएका थिए । 

रुसी मिसाइल तथा सैन्य विमानहरूले आइतबार बिहानदेखि युक्रेनको राजधानी किभको उत्तर र दक्षिणी इलाकामा बमबारी बढाएको स्थानीय अधिकारीहरूले जानकारी दिइरहेका छन् । रुसी स्थल सेना पनि चारै दिशाबाट बिस्तारै किभतर्फ अघि बढिरहेको छ । तिनलाई सघाउन वायु सेनाले हवाई आक्रमण तीव्र बनाउन थालेको हुन सक्ने अन्तर्राष्ट्रिय मिडियाको आकलन छ ।

रुसी फौजले किभवरपरका उत्तर–पूर्वी युक्रेनमा केही प्रगति गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् । केही दिनदेखि सो क्षेत्रमा रुसी फौजको गति सुस्त देखिएको थियो । युक्रेन आक्रमणमा सहभागी रुसी फौजको उत्तरी हिस्साको मुख्य प्राथमिकता किभ नियन्त्रण लिनु देखिन्छ । गत साता भू–उपग्रहले बेलारुसको सीमाबाट किभतर्फ अगाडि बढिरहेको रुसी सैन्य वाहनको ६४ किमि लामो लावालस्करको फोटो खिचेको थियो । बीचमा हटेको जस्तो देखिएका ती वाहनको लस्कर पुनः परिचालित भएको बताइएको छ ।

रुसी स्थल फौजको एक ठूलो हिस्सा शनिबार अबेरसम्म युक्रेनी राजधानीको २५ किमिनजिक पुगेका छन् । तर, आइतबार दिनभर यो फौजले युक्रेनी सेना तथा नागरिकको बलियो प्रतिरोध सामना गर्नुपर्यो । जसका कारण रुसी फौज अझै किभबाट २५ किमि परै रोकिइरहेको बताइएको छ । 

शनिबार रुसी रकेट आक्रमणमा किभको भसिल्किभ बस्तीनजिक युक्रेनी हवाई आधार ध्वस्त भएको थियो । रकेट आक्रमणबाट एउटा हातहतियार भण्डार ध्वस्त भएको भसिल्किभका मेयर नतालिया बलासिनोभिचले बताइन् । त्यस्तै, रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभका अनुसार किभको पूर्वी बस्ती ब्रोभारीमा तैनाथ युक्रेनी सैन्य गुप्तचरी अनुसन्धान केन्द्र पनि आक्रमणमा परेको छ । 

तर, शनिबार रुसी हवाई आक्रमण किभमा मात्र सीमित थिएन । युक्रेनका सबैजसो प्रमुख सहरहरूमा सम्भावित बमबारीबाट सुरक्षित रहन बजाइने साइरनको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । राजधानी किभका अतिरिक्त लभिभ, ओडेसा, खारकिभ, चेरकासी र सुमी क्षेत्रमा पनि साइरन बजेको युक्रेनी मिडियाहरूले भनेका छन् । 

युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा रुसको नाकाबन्दी

रुसले युक्रेनको दोस्रो ठूलो सहर खारकिभलाई घेरेर सहरमा नाकाबन्दी लगाइरहेको छ । देशको मध्यपूर्वी सहर निपरोमा पनि उसले भीषण बमबारी गरिरहेको छ । अर्को सहर मरिअपोलमा नियमित बमबारीकै कारण उद्धारको काम प्रभावित बनेको छ । बमबारीले उद्धारको कामका अतिरिक्त सहरमा खानेपानी तथा खाद्यान्नको ढुवानी पनि रोकिएको अधिकारीले बताइरहेका छन् । 

युक्रेनी फौजले मरिअपोलको बाहिरी हिस्सामा रुसी फौजको पकड स्थापित भएको स्विकारेको छ । फेसबुकमा एक पोस्ट गर्दै युक्रेनी सेनाले पूर्वी सहरहरू मरिअपोल र सेभेरोदोनेत्स्कको कब्जालाई रुसी फौजले उच्च प्रथामिकतामा राखेको चेतावनी दिएको थियो । चार लाख ३० हजार मानिसको बसोवास रहेको मरिअपोललाई एक सातादेखि रुसी फौजले घेरिरहेको छ । युक्रेनी अधिकारीहरूले सहरमा रुसी आक्रमणबाट १५ सयभन्दा बढीको ज्यान गइसकेको बताएका छन् ।

शनिबार अबेरसम्म पूर्वी युक्रेनको लुहान्स्कको झन्डै ७० प्रतिशत भूभागमा रुसको नियन्त्रण कायम भएको त्यहाँका गभर्नर सेहिए हैदाईले बताएका छन् । उनका अनुसार कब्जामा आउन बाँकी क्षेत्रमा बमबारी भइरहेको छ । ती भेगमा युद्धबाट उम्कन चाहने मानिसहरूका लागि कुनै सुरक्षित मार्गको व्यवस्था नगरिनु दुःखद भएको उनले बताए । युक्रेनको उत्तरी सहर चेनिहिभले पनि भीषण रुसी बमबारीको सामना गरिरहेको सो क्षेत्रका गभर्नर भियाचेस्लाभ चोसले जानकारी दिएका छन् । स्थानीय टेलिभिजनले सहरका कैयौँ भवन तथा एक रंगशालामा भएको ठूलो स्तरको क्षतिका दृश्यहरू देखाइरहेका छन् । 

बेलायतका अनुसार गत शुक्रबारदेखि रुसले युक्रेनका पश्चिमी सहरहरूमा बमबारी गर्न थालेको थियो । बेलायतको रक्षा मन्त्रालयले उसको आधिकारिक ट्विटरमा गुप्तचर सूचनाको अपडेट गर्दै पश्चिमी युक्रेनी सहर लुत्स्क र इभानो–फ्रान्किभ्स्कमाथि आक्रमण भएको जानकारी दिएको छ । यसअघि रुसी आक्रमण मुख्यतः पूर्वी भेगमा मात्र केन्द्रित थियो । आइतबार नै युक्रेन सरकारले रुसी पक्षमा पुगेको क्षतिको तथ्यांक सार्वजनिक गरेको छ । युक्रेनले आफूहरूले रुसी पक्षमा ठूलो क्षति गराउन सफल भएको दाबी गरेको छ । आफ्नो प्रत्याक्रमणमा १२ हजार रुसी सेना, ३७४ तोप, १२२६ सैन्य वाहन र १४० भारी हातहतियार प्रणाली नष्ट भएको युक्रेनले बताएको छ ।

अर्कोतर्फ, गत शुक्रबार मध्यान्ह मेलिटोपोल सहरको मेयरलाई रुसले अपहरण गरेको समाचार आएको थियो । आइतबार रुसले अपहरण गरेका मेयरको सट्टामा आफैँले मेयर थपना गरेको रिपोर्ट आइरहेको छ । क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार रुसी बमबारीका कारण दोनेत्स्क क्षेत्रको भोल्नोभाखा सहर पूर्णतः क्षतिग्रस्त बनेको छ । 

–एजेन्सीको सहयोगमा

सुझावित समाचार