सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको आगामी निर्वाचनलाई जनयुद्धजस्तै ‘ब्याटल’ मानेर आक्रामक रूपले प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अरूका लागि निर्वाचनको जितहार सामान्य भए पनि माओवादीहरूका लागि जीवनमरणको सवाल भएको बताए । जनयुद्धकै जस्तो ब्याटल मानेर आक्रामक रूपले प्रचारप्रसारमा लागे जित हासिल गर्न सकिने उनले बताए ।
प्रचण्डले जित सुनिश्चित गराउन निर्वाचन प्रचारप्रसार अभियानलाई पनि दुई महिना जनयुद्धकै जस्तो कमान्ड सिस्टममा लाने र सोहीअनुसार प्रतिबद्ध भएर फिल्डमा खटिन कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘जनयुद्धकै जस्तो कमान्ड सिस्टम बनाएर जनतामाझ जानुहोस् । संघीयता र गणतन्त्र हाम्रै कारण आएको हो भनेर गाउँगाउँमा गएर बुझाउनुहोस् । बीचमा केही त्रुटि भएकै हो । तर, समाजवादी यात्राको कोर्सबाट हामी भागेका छैनौँ भनेर माफी माग्नुहोस् । जनजनलाई बुझाएर जित सुनिश्चित गराउनुहोस् ।’
अन्तर्राष्ट्रिय गिरोहको योजनामा नेपालमा पनि अमेरिका र बेलायतको जस्तो दुईवटा मात्र पार्टी बनाउने चलखेल भइरहेकोले निर्वाचनमा जित हासिल गर्न नसकेमा लोकतन्त्र हार्ने र प्रतिगमनकारीहरूको जित हुने उनको भनाइ छ । प्रचण्डले भने, ‘हामीले निर्वाचन हारे लोकतन्त्र पनि हार्छ । यसैले निर्वाचन लडाइँ जित्नै पर्ने बाध्यता छ ।’
सबै उपलब्धिहरू माओवादीका कारण प्राप्त भए पनि पार्टी र कार्यकर्ताहरू रक्षात्मक हुँदा जस नपाएको उनले बताए । आठौँ महाधिवेशनले पार्टीलाई समाजवादको यात्रामा जाने बाटो तयार पारेको भन्दै प्रचण्डले उत्साही भएर अगाडि बढ्न आह्वान गरे ।