नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको उन्मादले देश र जनताको हित नगर्ने बताएका छन्। नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सत्तागठबन्धनका दलहरूलाई इंगित गर्दै अध्यक्ष ओलीले कहिले्काहीँ परमादेशको बलमा शक्तिहीन पनि सत्तामा जाने र उनीहरूमा उन्माद चढ्ने टिप्पणी गरे। त्यस्तो उन्मादले देश, जनता र नागरिक कसैको पनि रक्षा नगर्ने उनले बताए।
‘सरकार सत्तामा हुन्छ, सत्ताले उन्माद जन्माउन सक्छ । सबैभन्दा खराब कुरा के हो भने सत्ताले उन्माद जन्माउँछ। कहिलेकहिले खासै शक्ति नभएका व्यक्तिहरू पनि अनेक जालझेल, तिकडम आदि गरी परमादेश जारी भएका बखत हुलमूलमा पावरमा पुग्न सक्छन्। त्यसरी पावरमा पुगे भने त्यस्ता मान्छेमा उन्माद चढ्न सक्छ। र, त्यो उन्मादले देश र जनताको हित र संविधानको रक्षा गर्दैन,’ उनले भने।
नागरिकप्रतिको आफ्नो उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने भन्दै अध्यक्ष ओलीले कर्मचारीहरूलाई नागरिकप्रतिको कर्तव्य निर्वाह गर्न आग्रह गरे।