चुनावी गठबन्धनमा सहभागी नभए कांग्रेसलाई नै घाटा : उपमहासचिव तुलाधर (भिडियो)

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बन्न नसके नेपाली कांग्रेसलाई नै घाटा हुने बताएका छन्। 

बिहीबार केन्द्रीय कमिटीको तेस्रो बैठकबारे जानकारी गराउने क्रममा नेता तुलाधरले यस्तो बताएका हुन्। उनले गठबन्धनमा नेपाली कांग्रेस सहभागी नबने कांग्रेस स्वयंलाई घाटा हुने बताए। 

तुलाधरले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरूको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको टिप्पणी गरे। उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताले आगामी निर्वाचनमा आफ्नो पल्ला भारी गर्न आगामी निर्वाचनमा कांग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाए। नेता तुलाधरले नेपाली कांग्रेसका सभापति एवं शीर्ष नेताहरू भने गठबन्धनसहित आगामी निर्वाचनमा जाने पक्षमा रहेको बताए। 

नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनाव मात्रै नभई प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताए। उनले चुनाव प्रचारप्रसारका लागि पाँच हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रीय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताए। 

सुझावित समाचार