एकीकृत समाजवादी बैठकमा अध्यक्ष नेपालको प्रतिवेदन : चुनावबाट पार्टीलाई स्थापित गर्न गठबन्धनको प्रस्ताव, सम्पूर्ण शक्ति चुनावमा लगाउने

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण
एकीकृत समाजवादी बैठकमा अध्यक्ष नेपालको प्रतिवेदन : चुनावबाट पार्टीलाई स्थापित गर्न गठबन्धनको प्रस्ताव, सम्पूर्ण शक्ति चुनावमा लगाउने

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार बसेको एकीकृत समाजवादी केन्द्रीय समितिको बैठक

एकीकृत समाजवादीले ३० वैशाखको स्थानीय निर्वाचन पार्टीका लागि राजनीतिक हैसियत निर्धारण गर्ने परीक्षा भएकाले सम्पूर्ण शक्ति चुनावमा लगाउने गरी कार्ययोजना प्रस्तुत गरेको छ । बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधव नेपालले निर्वाचन तयारीलाई केन्द्रबिन्दु बनाएर सम्पूर्ण शक्ति परिचालित हुने गरी कार्ययोजना प्रस्तुत गरेका हुन् । 

निर्वाचनबाट राजनीतिक हैसियतसहितको पार्टी निर्माणका लागि अध्यक्ष नेपालले अहिलेको गठबन्धनलाई स्थानीय निर्वाचन हुँदै संघ र प्रदेशसम्म कायम राख्नुपर्ने प्रस्तावसमेत गरेका छन् । निर्वाचन पार्टीका निम्ति जनतामाझ जाने र उनीहरूको मन जित्ने एउटा महत्वपूर्ण अवसर भएको र हरेक पार्टीले जस्तै आफ्नो पार्टीले पनि यस अवसरलाई अधिकतम रूपमा उपयोग गर्नुपर्ने नेपालको प्रतिवेदनमा छ । 

‘आगामी वैशाख ३० गते एकै चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई हामीले अधिकतम रूपमा उपयोग गर्नुपर्दछ,’ नेपालको प्रतिवेदनमा छ, ‘यो निर्वाचन हाम्रो पार्टी जीवनका लागि एउटा महŒवपूर्ण परिघटना हो । यसमा हामीले प्राप्त गर्ने सफलताले एकातर्फ हाम्रो राजनीतिक हैसियत निर्धारण गर्नेछ भने अर्कोतर्फ हाम्रो भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्नेछ । त्यसैले आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो ।’

निर्वाचनका लागि उनले पार्टी र जनसंगठनका सबै कमिटी पदाधिकारीलाई निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित गराउने गरी परिचालनको योजना प्रस्तुत गरेका छन् । नेपालले पार्टीलाई नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित गर्न लोकतान्त्रिक धारको अहिलेको गठबन्धनसँगको सहकार्यलाई सबै तहको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका छन् । ‘वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्गचरित्र फरक–फरक भए तापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर यिनीहरूले गठबन्धनमा रही सहकार्य गरिरहेका छन्,’ नेपालको प्रस्तावमा छ, ‘यस गठबन्धन र सहकार्यलाई कम्तीमा पनि आगामी स्थानीय तहको निर्वाचनसम्म मात्र होइन, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता छ ।’ संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने पार्टीको मान्यता रहेको उनले प्रतिवेदनमा खुलाएका छन् ।

अबको निर्वाचनमा एकातिर प्रतिगमनकारी एवं अलोकतान्त्रिक शक्तिहरू तथा अर्कोतर्फ लोकतन्त्र र अग्रगमनका पक्षधर शक्तिहरूबीच प्रतिस्पर्धा हुने प्रस्ट्याएका छन् । नाम नखुलाए पनि नेपालले प्रतिगमनकारी एवं अलोकतान्त्रिक शक्तिको नेतृतव एमाले र लोकतन्त्र र अग्रगमनका पक्षधर शक्तिहरूको नेतृत्व कांग्रेससहितको गठबन्धनले गर्ने प्रस्ट संकेत गरेका छन् । निर्वाचनको तयारीका लागि उनले प्रमुख कामका रूपमा निर्वाचन घोषणापत्रको लेखन, निर्वाचन निर्देशिकाको निर्माण, उम्मेदवारका मापदण्डको निर्धारण र उम्मेदवार छनोट प्रक्रियाको निर्धारण तथा निर्वाचन परिचालन तथा सहयोग समितिको गठनको प्रस्ताव गर्दै ती काममा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनको तयारीका लागि उनले १५ चैतभित्र सबै पालिका र वडामा संगठन निर्माण गरिसक्नुपर्ने, योजना बनाएरै पार्टी प्रवेश अभियान चलाउनुपर्ने, जनपरिचालन, प्रशिक्षण अभियान, प्रचारात्मक काम, आर्थिक संकलन र अभिलेख व्यवस्थापनको कामलाई अगाडि बढाउन प्रस्ताव गरेका छन् ।

 संगठन निर्माण र सरकारको काममा निराशा स्वीकार
एकीकृत समाजवादीले विद्रोहपछि पार्टी संगठन निर्माण योजनाअनुसार हुन नसकेको र सरकारमा गएर पनि उत्साहजनक कुनै काम गर्न नसकेको विषयलाई प्रतिवेदनमै स्वीकार गरेको छ । ‘तीन महिने कार्ययोजनामा निर्धारित सबै पालिका र वडामा कमिटी निर्माण गर्ने लक्ष्य अझै प्राप्त भएको छैन । ०७८ माघ २५ गते बसेको केन्द्रीय सचिवालयको १३औँ बैठकले संगठन निर्माणको विशेष अभियान सञ्चालन गरी फागुन मसान्तसम्म प्रत्येक पालिकाका सम्पूर्ण वडामा पार्टी जनसंगठनका कमिटी निर्माण गरिसक्ने निर्णय गरेको थियो र त्यस निर्णयलाई अपानिमार्फत पार्टीपंक्तिमा प्रसारित गरिएको थियो । तर, अझै पनि सबै पालिका र वडामा कमिटी निर्माण कार्य सम्पन्न भएको छैन,’ प्रतिवेदनमा छ । त्यस्तै, सरकारमा गएर पनि पार्टीले काम गर्न नसकेको विषयलाई पनि कमजोरीका रूपमा प्रतिवेदनमा स्वीकार गरिएको छ । 

 बाध्यताले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन
एमसिसी अनुमोदनलाई एकीकृत समाजवादीले बाध्यात्मक परिस्थितिको उपजका रूपमा प्रस्ट्याउने कोसिस गरेको छ । एमसिसी अनुमोदनपछि पार्टीपंक्तिमा तल्लो तहसम्म असन्तुष्टि बढिरहेका वेला एकीकृत समाजवादीले अनुमोदन बाध्यताको उपज भएको जनाएको हो । 

एमाले र कांग्रेसबीचको वार्ता पाँचदलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका चौधजना सांसदलाई कारबाही गर्ने, पार्टीको दर्ता खारेज गर्ने तथा प्रधानन्यायाधीशमाथिको महाअभियोग फिर्ता लिनुपर्ने गरी एमसिसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्नेतर्फ अग्रसर भयो । त्यस प्रकारको परिस्थितिबीच पाँचदलीय गठबन्धनमा संलग्न दलहरू वैकल्पिक निकासको खोजीमा लागे,’ प्रतिवेदनमा छ, ‘त्यसक्रममा एमसिसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो । त्यस धारणामा हामी पनि आधारभूत रूपमा सहमत भयौँ । यदि हामीले यसो नगरेको भए कांग्रेस र र एमाले मिलेर पाँचदलीय गठबन्धन तोड्ने, सभामुख हटाउने र हाम्रो पार्टीका चौध सांसदलाई कारबाही गर्ने गरी उनीहरूले एमसिसी जस्ताको तस्तै अनुमोदन गर्ने थिए ।’

नेपालले आफ्नो प्रतिवेदनमा वैकल्पिक बाटो रोजेर सबै खतरा टारिएको बताएका छन् । ‘गठबन्धन तोडिने, सभामुख हटाइने, हाम्रो पार्टीका चौधजना सांसदलाई कारबाही गरिने र पार्टीको अस्तित्व समाप्त पारिने तथा अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्थे । हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौँ,’ प्रतिवेदनमा छ । 

सुझावित समाचार