माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका दोस्रो तहका नेताहरूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । प्रचण्डले अपमानजनक भाषा नबोल्न कांग्रेस नेताहरूलाई चेतावनीसमेत दिएका छन् । ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले चुनावी गठबन्धन गर्ने विषयमा कांग्रेसका नेताहरूको टिप्पणीप्रति आपत्ति जनाएका हुन् । उनले कांग्रेसका नेताहरूको अपमान सह्य नहुनेसमेत बताएका छन् ।
‘संघीय चुनावको प्रत्यक्ष निर्वाचनमा हामीभन्दा कांग्रेस १० सिट तल छ । थोरै सिट भए पनि कांग्रेसलाई उचालेर सिंहासन (प्रधानमन्त्री शेरबहादुर देउवा)मा लगेर राखिएको छ । २३ सिट भएकालाई सिंहासनमा पुर्याएको हामीले हो । अहिले कतिपय कांग्रेसले हामीलाई अपमानित गर्ने ?’ प्रचण्डको भनाइ थियो, ‘कांग्रेस–एमाले दुवैलाई रछ्यानमा पुर्याउने तागत हामीसँग छ । यस्तो अपमान सहन सकिन्न ।’
केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस संस्थापनइतरका नेताहरूले माओवादी र एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए । यसैको प्रतिक्रियामा प्रचण्डले कांग्रेसप्रति असन्तुष्टि पोखेका हुन् । प्रचण्डले प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसिसी पास गर्ने अवस्थामा पुगेपछि आफूले ‘व्याख्यात्मक घोषणा’को उपाय निकालेको दाबी गरे । ‘प्रधानमन्त्रीले मसँग कुराकानीमा केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसिसी पास गर्छु भन्नुभयो । त्यसपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ । अब एमसिसी व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा गइसक्यो । व्याख्यात्मक घोषणाको केही अर्थ छैन भन्नु गलत हो,’ उनले भने ।
एमाले र कांग्रेस मिलेर जस्ताको तस्तै पारित गर्ने षड्यन्त्र सुरु भएपछि व्याख्यात्मकको सहमति गरेर गठबन्धन बचाउने उपाय निकालेको प्रचण्डको भनाइ थियो । प्रचण्डले एमसिसीलाई लिएर पार्टीभित्र विवाद र बहस चलिरहेको भए पनि पार्टीलाई विभाजन हुनबाट रोकेको दाबी गरे । ‘पहिलाजस्तो हुन्थ्यो भने एमसिसीको मुद्दामा पार्टी फुटिसकेको हुन्थ्यो । अहिले नारायणकाजीजी र म अलग–अलग ठाउँमा बसेर एकअर्कालाई गाली गरिरहेका हुन्थ्यौँ । तर, जिम्मेवार नेतृत्व हुँदा सजिलै छलफलको वातावरण बन्यो र देश पनि दुर्घटनाबाट बच्यो,’ प्रचण्डको भनाइ थियो, ‘एमसिसीमा धेरै बहस गरेर जाँदा चुनावमा असर गर्छ भनेर केही समय थाती राखेका छौँ ।’ प्रचण्डले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा एमसिसीको प्रक्रिया अघि बढेको भए पनि त्यसवेला आफूलाई जानकारी नगराएको दाबी गरे ।
प्रचण्डले अब केही समय गठबन्धनको विषय साइडमा राखेर आफ्नै खुट्टामा उभिएर लड्ने तयारीमा जुट्नुपर्ने पनि बताए । ‘चुनाव मात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुट्नुपर्छ,’ प्रचण्डको भनाइ थियो, ‘भए गठबन्धनमै लड्छौँ, नभए आफ्नै खुट्टामा उभिएर लड्ने शक्ति आर्जन गर्छौँ ।’