कांग्रेसले एमसिसीबारे वास्तविकता बुझाएर भोट माग्नुपर्छ : नेता सिंह

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितमा भएकाले पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसिसीको वकालत गरेको बताएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, शंखमूलमा बुधबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसिसी नेपालको हितका लागि आवश्यक भएकाले वकालत गरिएको बताएका हुन् ।

‘एमसिसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने।  उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि बताए । ‘एमसिसीबारे राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’   सिंहले भने, ‘राष्ट्रघाति भए संघीय संसदबाट पास हुन्थ्यो त ? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने ? यसरी त मिल्दैन नि।’ उनले एमसिसीबारे भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर 'इन्डो–प्यासिफिक' रणनीतिसँग जोडेकोप्रति आपत्तिसमेत जनाए। एमसिसीबारे गलत प्रचार गर्नेहरूले नेपाल आइपिएसको अंग बन्यो भनेर भ्रम छरे,’ उनले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’ उनले अब पार्टीका सबै नेता–कार्यकर्ताले नागरिकको घरघरमा पुगेर एमसिसीको वास्तविकता बुझाउँदै कांग्रेसले मत माग्नुपर्ने बताए । 

सुझावित समाचार