एमसिसीपछि देउवाको ध्यान स्थानीय निर्वाचनतिर

२७ फागुनदेखि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने तयारी

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिष्ठाको विषय बनेको एमसिसी अनुमोदनपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा केन्द्रित गर्न थालेका छन् । अर्को सातादेखि केन्द्रले औपचारिक रूपमा चुनावी अभियान सञ्चालन गर्दै छ । स्थानीय निर्वाचन घोषणापत्र तयारीका लागि समिति बनाउन सभापति देउवाले परामर्श थालेका छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी अभियानअन्तर्गतका गतिविधि बढाइएको बताए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार निर्वाचनसम्बन्धी गतिविधि बढाइएको उनले बताए । 

‘औपचारिक रूपमा चुनावी अभियान सुरु त भएको छैन, तर स्थानीय तहमा घरघर जाने, गाउँ–टोलमा समिति गठन गर्नेलगायत काम सुरु भइसकेका छन्,’ प्रवक्ता डा. महतले भने, ‘केही जिल्लामा अधिवेशन नटुंगिएकाले औपचारिक चुनावी अभियान सुरु हुन सकेको छैन ।’

प्रवक्ता महतका अनुसार पार्टीले केन्द्रीय प्रतिनिधिलाई जिल्लामा खटाइसकेको छ । २७ माघदेखि ३ फागुनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार निर्वाचनसँग जोडिएका काम भएका छन् । कांग्रेसले निष्क्रिय अवस्थामा रहेको भ्रातृ संस्थाका फागुन मसान्तभित्र तदर्थ समिति निर्माण गरेर निर्वाचनमा सक्रिय बनाउन लागेको छ । 

भ्रातृ संगठन सक्रिय बनाउन जम्बो तदर्थ समिति बनाइँदै 
कांग्रेसले समयावधि सकिएका भ्रातृ संस्थाको महाधिवेशनका लागि तदर्थ समिति बनाउन थालेको छ । फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने गरी सभापति देउवाले आवश्यक परामर्श गरिरहेको प्रवक्ता महतले बताए । आकांक्षी धेरै देखिएपछि समितिमा अधिकांश समेट्ने तयारी गरिएको छ । सभापति देउवानिकट एक पदाधिकारीका अनुसार पार्टीका असन्तुष्टि कम गर्न र निर्वाचनमा भ्रातृ संस्थाको भूमिका बढाउन जम्बो समिति बनाउने तयारी भएको छ । नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी–जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघको कार्यसमिति विघटनको अवस्थामा छन् । महाधिवेशन प्रक्रियामा रहेको नेपाल दलित संघलाई चैत ७ देखि ९ भित्रमा महाधिवेशन सक्न निर्देशन दिइएको छ ।

त्यसैबीच, कांग्रेसले भ्रातृ संस्थाहरू नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ तथा शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको प्रस्तावित विधान टुंगो लगाएको छ । कार्यसम्पादन समितिका सुझाव समेटेर केन्द्रीय कार्यालयले विधानलाई अन्तिम रूप दिएको हो । कार्यसम्पादन समिति बैठकले १३औँ कार्यसमितिले एनपी साउदको नेतृत्वमा बनेको भ्रातृ एवं शुभेच्छुक संस्था विधानको मापदण्ड निर्धारण तथा एकरूपता समितिले पेस गरेको प्रतिवेदन अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको थियो । भ्रातृ संस्थाको समयावधि तीन वर्ष र महाधिवेशन प्रक्रिया एकै हुने गरी अन्तिम रूप दिइएको छ । 

त्यसैबीच, नेविसंघको नेतृत्वमा महिलालाई प्राथमिकता दिन माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ । विद्यार्थी नेतृहरूले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ एवं पार्टी प्रवक्ता डा. महतलगायत नेतालाई ज्ञापनपत्र बुझाएका थिए । तदर्थ समिति गठन सभापतिको काँधमा आएकाले समावेशी कांग्रेस निर्माण गर्न माग गरिएको बताइएको छ । नेविसंघ पूर्वकेन्द्रीय सदस्य गीता गुरुङले विद्यार्थी नेतृहरू पनि केन्द्रीय अध्यक्षको जिम्मेवारी बहन गर्न सक्षम रहेकाले जिम्मेवारी प्रदान गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिइन् ।

पार्टीका सबै तह, भ्रातृ र शुभेच्छुक संस्था अभियानमा
कांग्रेसले एक सातापछि निर्वाचनकेन्द्रित ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको छ । २० फागुनबाट सुरु गर्ने भनिएको अभियान एक साता पछि सरेको छ । स्थानीय निर्वाचनका लागि संगठन सुदृढीकरण अभियानअन्तर्गत पार्टीका सबै तह, सबै भ्रातृ र शुभेच्छुक संस्था सहभागी गराएर अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी छ । एमसिसीका कारण केन्द्रीय नेताहरू काठमाडौंकेन्द्रित भएको र १६ जिल्लामा अधिवेशन समयमै नसकिएपछि अभियान पछि सरेको हो ।

सुझावित समाचार