राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको टिप्पणी गरेका छन्।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रूपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्धमा असर परेको उनको भनाइ थियो।
प्रमुख राजनीतिक दलहरूकै कारण नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलको रूपमा परिणत भएको उनले बताए। उनले दलहरूको सत्ताकेन्द्रित क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताए। अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गरे।
अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे। देशलाई कम्युनिस्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे उनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए।
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गरेको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेको आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठक बिहीबार पनि बस्ने उहाँले बताउनुभयो।
बाइट ... मोहन श्रेष्ठ, प्रवक्ता, राप्रपा
प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक मूल रूपमा आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने उल्लेख गर्नुभयो। बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरूलाई अनुमोदन पनि गर्ने उहाँले जानकारी दिनुभयो।