एमालेका अध्यक्ष केपी ओलीले एमसिसी सम्झौता यथास्थितिमा नै पारित भएको बताएका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले व्याख्यात्मक घोषणाको नाममा सम्झौता संशोधन भएको भ्रम जनतामा छरिएको बताए।
‘एमसिसी सम्झौताअनुसार पारित भएको हो। मूल सम्झौतामा संशोधन गरेर पारित गरिएको होइन,’ उनले भने, ‘यथास्थितिमा पारित हुँदैन भन्नेहरूले व्याख्यात्मक घोषणामार्फत संशोधन गरिएको भ्रम जनतामा छरे।
उनले एमसिसीका सम्बन्धमा संसदबाट पारित भएको व्याख्यात्मक घोषणा लाज छोप्ने धरो मात्र भएको टिप्पणीसमेत गरेका छन्। व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्यता नदिने उनको दाबी छ। एमसिसीका विषयमा एमालेले संसदमा छलफल गर्न चाहेको भए पनि सरकारले त्यसका लागि वातावरण तयार नगरेको उनले आरोप लगाए।
अवरोधबीच संसदबाट एमसिसी पास हुनु उचित नभएको उनले बताए। ‘हामीले संसदमा छलफलको वातावरण तयार गरेर छलफलमा सहभागी हुन चाह्यौँ। तर, हामीलाई त्यो वातावरण दिइएन,’ उनले भने, ‘सांसदहरूको अधिकार खोसेर निषेध हुने गरी एासिसी पारित गराइयो।’