पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महत्वपूर्ण विषयमा संसदमा छलफल भइरहँदा प्रमुख प्रतिपक्षका सांसदहरू विरोधमा उत्रिनु शोभनीय नभएको बताएका छन्।
‘एमसिसीको विषयमा एउटा सामान्य अनुदान सम्झौता थियो। तर यसलाई हामीले जानेर नजानेर गिजोल्दै गयौँ। एउटा सामान्य घाउ बाँदरको घाउजस्तो सेप्टिक हुँदै अहिले क्यान्सरको अवस्थामा पुग्दै छौँ,’ उनले भने, ‘हामी आपसमा लड्दै छौँ। एउटालाई राष्ट्रघाती अर्कोलाई राष्ट्रवादी भनेर। देशलाई यसरी कित्ताबन्दी गरेर हामी कहाँ पुग्छौँ ?‘
एमसिसीलाई व्याख्यात्मक टिप्पणी गरेर पारित गर्ने सहमति हुनु खुसीको कुरा भएको उनले बताए। ‘मलाई खुसी लागेको छ, हाम्रा कतिपय मित्रहरूले भर्खरै एउटा समझदारी गर्नुभएको छ भन्ने मैले सुनेको छु। व्याख्यात्मक टिप्पणी गर्ने भनिएको छ। उहाँहरूले हिजो तलतलसम्म विषाक्ता बनाउनुभयो, वतावरण आफैँलाई जनताको बीचमा जान नसक्ने बनाउनुभयो। अब फेरि एउटा पातलो लगौटी लगाएर आफ्नो लाज छोप्ने र जनतामा जाने बाटो खोज्दै हुनुहुन्छ भन्ने सुन्दा म खुसी नै छु।‘
देर आयो दुरुस्त आयो भनेजस्तै बेलैमा बुझेको भए राम्रो उनको भनाइ छ। ‘यतिवेला हामी देश र जनताप्रति जिम्मेवार छौँ भने सत्य बोल्ने आँट गर्नुपर्छ। सत्य पनि बोलियो प्रिय पनि बोलियो तर अप्रिय सत्य पनि बोल्नुपर्छ। अब यसलाई विकसित गर्नुपर्छ, कुनै सत्य अप्रिय लाग्छ तर त्यो सत्य हुन्छ देश र जनताको पक्षमा हुन्छ भने बोल्ने आँट गर्नुपर्छ। त्यसैले आज म त्यो सत्य बोल्ने आँट गरेर उभिएको छु,’ उनले भने।