नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी परियोजना एमसिसी आइतबार नै पारित हुने बताएका छन् । सत्तागठबन्धनकोे बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता पौडेलले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसिसी आइतबार नै संसदबाट पारित हुने बताएका हुन् ।
‘सदनमा उठेका प्रश्नहरूलाई सरकारले जवाफसहित यो ‘व्याख्यात्मक टिप्पणी’सहित यो सम्झौतालाई सँगसँगै ‘अट्याच’ गरेर अन्तमा प्रस्तुत गर्छ । र, सदनले त्योसहित पारित गर्छ । दोस्रो सेसनमा आजै अनुमोदन हुन्छ,’ पौडेलले भने । एमसिसीमा शंका उठाइएका विषयहरूलाई ‘क्लियर’ गर्नका लागि मुख्य गरी एमसिसी ‘इन्डो–प्यासिफिक रणनीति’को अंग नभएको र यसमा नेपालको संविधान सर्वोपरि हुने साथै यसलाई विशुद्ध आर्थिक सहयोगका रूपमा लिने गरी ‘व्याख्यात्मक टिप्पणी’सहित संसदबाट पारित गरिने उनले बताए ।
‘मुख्य रूपमा यही कुरा गरेर सदनमा उठेका प्रश्नहरूलाई सरकारले जवाफसहित, यो व्याख्यात्मक टिप्पणीसहित यो सम्झौतालाई सँगसँगै अट्याच गरेर अन्तमा प्रस्तुत गर्छ,’ उनले भने, ‘सदनले त्योसहित पारित गर्छ । दोस्रो सेसनमा आजै अनुमोदन हुन्छ ।’
एमसिसी पास गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सकारात्मक भूमिका हुने पनि पौडेलले बताए । प्रमुख प्रतिपक्षी दलकै नेता प्रधानमन्त्री भएको वेलामा एमसिसीलाई संसदबाट पास गर्ने निर्णय भएको बताउँदै उनले भने, ‘त्यसकारण उहाँहरू त यसमा पूर्ण रूपले बाँधिनुभएको छ । तर, उहाँहरूले गरेकोभन्दा बढी यो सम्झौतामा जुन अस्पष्टता थिए, नेपालको पक्षमा जुन प्रस्ट गर्नुपर्ने थियो, त्यसलाई प्रस्ट गरेर यो सरकार अगाडि बढ्छ ।’