एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसिसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन्।
शुक्रबार बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसिसी पास गर्ने वचन दिएको बताए। उनले एमसिसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि दाहाल–नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दाबीसमेत गरे। अध्यक्ष ओलीले गैरसांसदहरूलाई संसदमा राखेर सभामुख अग्निप्रसाद सापकोटाले संसद् चलाएसम्म आफूहरूले संसद्को कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने अडान दोहोर्याए।
उनले भने, ‘एमसिसीबारे हामीसँग कांग्रेसले कुरा गर्यो। कांग्रेसले कुरा गरेको थाहा पाएपछि साथीभाइको सातो गएछ, गठबन्धन टुट्छ भनेर। हिजो बिहान गए प्रचण्ड, माधव नेपाल कुदेर। शेरबहादुर देउवाकहाँ गएर भन्नु भो– हामी एमसिसी पास गर्छौं, गठबन्धन जोगाइदिनुस्, हामीलाई सडकमा नफालिदिनुस् प्रभु भनेपछि प्रधानमन्त्री देउवाजीले हेर्छु, कत्तिको इमान्दार छौ, इमान्दार रहेछौ भने ठीक छ भनेर प्रधानमन्त्रीजीले पठाउनुभयो। गएको राति उहाँहरू आधाआधा सुत्नुभयो। निन्द्रा लागेन, अब के गर्ने ?’