सक्रिय बनाइँदै कांग्रेसका भ्रातृसंस्था

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

तीन भ्रातृसंस्थाको विधान टुंगो लाग्यो, नयाँ विधानअनुसार महाधिवेशन

कांग्रेसले तीनवटा भ्रातृसंस्थाको विधान टुंगो लगाएको छ । नेपाल महिला संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघको विधान टुंगो लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयले भ्रातृसंघका विधानलाई एकरूपता दिँदै विधान पारित गरेको हो । 

धनराज गुरुङ, उपसभापति, कांग्रेस

अहिलेसम्म पाँचमध्ये तीनवटा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित भएको छ । सबै संगठनका विधानलाई एकरूपता दिँदै विधान पारित गरिएको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार पाँचमध्ये तीनवटा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान केन्द्रीय पदाधिकारी बैठकले पारित गरेको हो । केन्द्रीय कार्यालयमा सोमबारबाट पदाधिकारीको उपस्थितिमा विधानमाथि छलफल सुरु भएको थियो । ‘अहिलेसम्म पाँचमध्ये तीनवटा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित भएको छ,’ उनले भने, ‘सबै संगठनका विधानलाई एकरूपता दिँदै विधान पारित गरिएको छ ।’

कांग्रेसको १४औँ महाधिवेशनपछि पहिलोपटक २७ माघदेखि ३ फागुनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विधान टुंगो लगाउने निर्णय गरेको थियो । भ्रातृसंस्थाहरू नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ तथा शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको प्रस्तावित विधान कार्यसम्पादन समितिका सुझावसमेतलाई समेटेर स्वीकृत गर्न केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिएको थियो । कार्यसम्पादन समिति बैठकले १३औँ कार्यसमितिले एनपी साउदको नेतृत्वमा बनेको भ्रातृ एवं शुभेच्छुक संस्था विधानको मापदण्ड निर्धारण तथा एकरूपता समितिले पेस गरेको प्रतिवेदन अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको थियो । 

नयाँ विधानअनुसार महाधिवेशन 
विधान पारित भएका भ्रातृसंस्थाको अधिवेशन नयाँ अधिवेशन हुनेछ । कार्यसम्पादन समिति बैठकले अवधि समाप्त भइसकेका १० भ्रातृसंघ विघटन भएको निर्णय गर्दै फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । कार्यसम्पादन समितिले प्रस्तावित विधान कार्यसम्पादन समितिका सुझावलाई समेटेर स्वीकृत गर्न केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिएको थियो । 

कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघले अवधिभित्र महाधिवेशन सम्पन्न गर्न नसकेपछि कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको थियो । 

कांग्रेसले यी भ्रातृसंस्थालाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाल दलित संघको महाधिवेशन प्रक्रियामा रहेकाले ७ देखि ९ चैतसम्म सम्पन्न गर्न कांग्रेसले निर्देशन दिएको छ । 

सुझावित समाचार