सबैभन्दा बहस र विवादको केन्द्रमा रहेको तथा संसद्मा अनुमोदनका लागि पेस भइसकेको एमसिसीको पक्ष–विपक्षबारे प्रमुख प्रतिपक्ष दल एमालेले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । सभामुखको भूमिका र माधव नेपालसहितका १४ सांसदमाथि कारबाहीको माग गर्दै सदन अवरोध राखेको एमालेले २३ भदौदेखि नै संसदीय प्रक्रियामा भाग लिएको छैन ।
यहीबीचमा आइतबार संसद्मा एमसिसी प्रस्ताव पेस भए पनि एमालेले स्पष्ट धारणा नबनाउँदा पास वा फेल हुने भन्ने निश्चित छैन । एमसिसीकै मुद्दामा सकेसम्म सत्तागठबन्धन तोडाउने रणनीति बनाएको एमालेले मौनता र दाउपेचको राजनीति गरेको छ । तर, एमालेकै सांसदलाई अधिकांश मतदाताको सुझाव छ– यथास्थितिमा एमसिसी पारित नगर्नू ।
गठबन्धनमै रहेका दलहरूमाथि लगातार प्रश्न उठाए पनि आफ्नो पार्टीले स्पष्ट ‘पोजिसन’ बनाउन नसक्दा नागरिकले सोधेका प्रश्नको जवाफ दिन आफूहरूलाई गाह्रो भएको एमाले सांसदहरूको भनाइ छ । उनीहरूका अनुसार एमसिसीबारे जनस्तरमा गम्भीर चासो छ र धेरैले पास नगर्न सुझाब दिएका छन् । कतिपय मतदाताले त सीधै भन्ने गरेका छन्– ‘नो एमसिसी ।’
बाग्लुङ– १ का एमाले सांसद सूर्य पाठक जिल्लाका नागरिकको धारणा ‘एमसिसी चाहिँदैन’ भन्ने रहेको बताउँछन् । एमसिसीलाई राष्ट्रियतासँग जोडिएका कारण संवेदनशील बनेको उनको विश्लेषण छ । ‘एमसिसीमा राष्ट्रव्यापी बहस छ । मेरो निर्वाचन क्षेत्रका नागरिकमा पनि यसबारे गम्भीर चासो देख्छु । फोन गरेर अथवा भेटेरै पनि सोध्छन् र सुझाव दिन्छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘यथास्थितिमा एमसिसी पास गर्नुहुँदैन भन्ने उनीहरूको धारणा छ । तर, त्यो प्रतिक्रिया एमसिसी कत्तिको बुझेर आएको हो भन्नेचाहिँ प्रश्न छ ।’
एमालेका अर्का सांसद झपट रावल कुनै पनि हालतमा एमसिसी अनुमोदन नगर्न सुझाव आइरहेको सुनाउँछन् । ‘एमसिसी कुनै पनि हालतमा पास गर्नुहुँदैन । सबभन्दा पहिले नेपाल आमा ठूलो हो । त्यसपछि मात्रै अरू कुरा आउँछन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘एमसिसीका पक्षमा नउभिनुस् भनेर मलाई जिल्लाका नागरिकहरूले हरेक दिन भन्छन् । मलाई भेटेरसमेत धेरैले एमसिसी राष्ट्रघाती भएकाले पारित गर्नुहुँदैन भनेका छन् । त्यसैले हामी यसको पक्षमा लाग्दैनौँ ।’
एमालेकै अर्का सांसद खेम लोहनी एमसिसीलाई सरकार र राजनीतिक दलहरूले भाँडाकुटी खेलाइजस्तोे हल्काफुल्का ढंगले लिइरहेको आरोप लगाउँछन् । एमसिसी संसद्मा टेबुल हुनुअघि र टेबुल भइसकेपछि पनि यसबारे आफ्ना क्षेत्रका नागरिकसँग कुराकानी भइरहेको उनको भनाइ छ । धादिङबाट प्रतिनिधित्व गर्ने लोहनी आफ्ना क्षेत्रका धेरै जनताले एमसिसी पारित नगर्न सुझाब दिएको बताउँछन् ।
कतिपयलाई एमसिसीबारे थाहै नभएका कारण बारम्बार जिज्ञासा राख्ने गरेको उनी अनुभव सुनाउँछन् । ‘सरकार र राजनीतिक दलले एमसिसीमा भाँडाकुटी खेलाइजस्तोे गरेका छन् । उनीहरूले यसलाई हल्काफुल्का ढंगले लिइरहेका छन् । एमसिसीलाई लिएर गाउँठाउँका मान्छेसँग पनि कुरा गरिरहेको हुन्छु । कतिपयलाई यसबारे थाहै छैन । यो के हो, कसो हो भनेर दैनिकजसो सोधिरहेका हुन्छन्,’ उनले भने, ‘तर, धेरैले चाहिँ एमसिसी पास नगर्न सुझाव दिइरहेका हुन्छन् । एमसिसी संसद्मा टेबुल भएको छ । कसरी अघि बढ्छ, हेरौँ ।’
एमाले सांसद रेखाकुमारी झा एमसिसी यथास्थितिमै पारित नगर्न सबैतिरबाट सुझाव आइरहेको सुनाउँछिन् । रौतहट घर भएकी उनी अहिले आफ्नै क्षेत्रतिर छिन् । मतदातासँगको भेटघाटमा प्रायः एमसिसीकै चर्चा हुने गरेको उनले सुनाइन् । एमसिसी देश हितमा नरहेको नागरिक बुझाइ रहेको झा बताउँछिन् ।
‘लामो समयदेखि जिल्लातिरै छु । स्थानीयसँग छलफलमै हुन्छु । एमसिसीबारे धेरैको चासो छ । यसका विवादित प्रावधानलाई यथावत् राखेर पास नगर्न उनीहरूको सल्लाह छ । ठीक होइन भनेका छन्, पास गर्नुहुँदैन भन्छन्,’ उनले भनिन्, ‘संसद्मा टेबुल भइसकेको छ । सबैलाई बोल्न दिइएला । हामी राष्ट्रहितलाई केन्द्रमा राखेर उभिन्छौँ । देश र जनताको पक्षमा हित हुने कुरा राखेर मात्र अघि बढ्छौँ ।’
एमसिसीको विपक्षमा खुलेर विरोध नगरेको भन्दै मतदाताले आलोचना गरिरहेको एमाले सांसद प्रेमप्रसाद तुलाचन बताउँछन् । उनी मुस्ताङबाट प्रतिनिधित्व गर्छन् । ‘मेरो क्षेत्रका अधिकांशले एमसिसी पारित गर्नुहुँदैन भनिरहेका छन्, हरेक दिनजसोे एमसिसी पास नगर्न झकझक्याउँछ । जिल्लाबाट बसाइँ सरेर पोखरा, काठमाडौंलगायत देश–विदेशमा रहेका साथीले समेत एमसिसी कुनै पनि हालतमा पारित नगर्न भन्छन्,’ सांसद तुलाचनले नयाँ पत्रिकासँग भने, ‘फोन गरेरै एमसिसीको विपक्षमा बस्न भनिरहेका हुन्छन् । एमसिसी पारित नगर्नु भन्दै भेट्न आउँछन् । कतिसम्म भन्छन् भने ‘तपाईंहरू किन बोल्नुहुन्न ? हाम्रा सांसदले पनि डलर भेटे कि के हो’ भनेर भन्छन् ।’
दलको ह्विप नमान्ने
दलले ह्विप जारी गरेर एमसिसीको पक्षमा भोट हाल्न भने पनि त्यसका पक्षमा जान नसकिने तुलाचनले बताए । ‘अमेरिकाले एमसिसीमाथि रणनीतिक खेल खेल्दै छ भन्ने नागरिकको बुझाइ छ । भविष्यमा कुनै पनि प्रकारका दुर्घटना नहोस् भन्नका लागि अहिले नै सांसद सतर्क बन्नुपर्छ भन्छन् । मैले हाम्रा दलका नेतालाई यो विषयमा ह्विप जारी नगर्नसमेत आग्रह गरेको छु,’ उनले भने, ‘ह्विप जारी गरेर पास गर्नुपर्छ भन्नुभयो भने पनि पक्षमा जान सक्दैनौँ भनेको छु ।’ मतदाताकोे सुझावअनुसार एमसिसीको पक्षमा जान नसकिने एमाले सांसद गंगा चौधरी बताउँछिन् । दाङ घर भएकी उनी अहिले जिल्लातिरै छिन् । एमसिसी संसद्मा टेबुल भएकोमा पनि नागरिकमा असन्तुष्टि रहेको उनको भनाइ छ । संसद्मा एमसिसीको पक्षमा हस्ताक्षर नगर्न नागरिकहरूबाट दैनिक दबाब आइरहेको चौधरीको अनुभव छ ।
‘कुनै पनि हालतमा एमसिसीका पक्षमा भोट नहाल्न मेरो क्षेत्रका जनताले भनिरहेका छन् । एमसिसी पारित गर्न हस्ताक्षर गरेमा क्षेत्रमा नआउनसमेत भनेका छन् । उनीहरूको एउटै माग छ, ‘नो एमसिसी,’ उनले नयाँ पत्रिकासँग भनिन् । उनले आफ्नो मतदातालार्ई भन्ने गरेकी छिन्, ‘एमसिसीको विषयमा हाम्रो पार्टीलाई सत्तागठबन्धनले सामेल गराएकोे छैन । हामी त रोेस्ट्रम घेरिरहेकै छौँ । हाम्रो पार्टी पनि विपक्षमा छ । हामीले संसद्मा धारणा राख्ने वातावरण नै तयार भएको छैन । सभामुखले हाम्रो माग सम्बोधन गरेका छैनन् ।’
सांसद पाठकले एमसिसीबारे सही ढंगले छलफल गर्न जरुरी रहेको देख्छन् । ‘एमसिसीबारे हाउगुजी सिर्जना गरियो । यसबारे संसद्मा सही ढंगले छलफल भयो भने जनता पनि स्पष्ट होलान् । तर, अहिलेको अवस्थामा एमसिसी अघि बढ्नुहुन्न भन्ने नागरिकहरूको चाहना छ,’ उनले भने, ‘नेकपा एमालेले एमसिसीमाथि दृष्टिकोण बनाओस् भन्ने चिन्ता पनि पाउँछु । तर, एमालेलाई संसद्मा आफ्नो धारणा राख्ने वातावरण बनाइएन भन्नेमा पनि उनीहरू सचेत छन् ।’