दाङमा ‘नो एमसिसी’ लेखिएको शंकास्पद प्रेसर कुकर भेटिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका– ७ स्थित रिहार सडकखण्डमा उक्त प्रेसरकुकर भेटिएको हो ।
पदमिनी खोलादेखि दुई समय मिटर पश्चिम सडकछेउमा फेला परेकाे प्रेसरकुकरमा तारले जेलिएकाे छ । उक्त शंकास्पद वस्तु देखेपछि स्थानीयले बम हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अहिले सोही स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । केही समयमा उक्त कुकरलाई डिस्पोज गर्ने तयारी भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनहरु एकतर्फी रूपमा सञ्चालन गरिएको छ । अहिले सोही स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ छ । अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।