बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण
बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु

फाइल तस्बिर

बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । यसअघि बिहीबार र शुक्रबार बसेको सत्तागठबन्धनको बैठकमा संसदबाट एमसिसी अनुमोदन गर्ने सहमति नजुटेपछि यस विषयमा सहमति जुटाउन आज बैठक बसेको हो । 

एमसिसी संसद् प्रवेश गराउन गठबन्धनमा रहेका दलहरूले आन्तरिक बैठकमार्फत लचिलो निर्णय गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा टेबुल गरेर सघन छलफल चलाउने निर्णयमा पुगेका छन् । सत्तागठबन्धन बचाउनैपर्ने बाध्यतामा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि टेबुलका लागि सकारात्मक भएका छन् । 

५० करोड अनुदान सहयोगको एमसिसी सम्झौता १६ फागुनभित्र संसदबाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ । ३० असार ०७६ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो । तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन । 

सत्तागठबन्धनको बैठकमा औपचारिक सहमति बने सम्भवतः आजकै संसद् बैठकमा एमसिसी टेबुल हुनेछ । आज दिउँसो १ बजे संसद् बस्दै छ । त्यसअगाडि साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्थाको बैठक बोलाएका छन् ।

सुझावित समाचार