आज छैटौँ निर्वाचन दिवस : ‘निर्वाचनमा सबै सधैँ सँगै’नाराका साथ मनाइँदै

शनिबार, ७ फागुन, २०७८
डिजिटल संस्करण

‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदै छ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै  यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुझकामना दिँदै आगामी स्थानीय तह निर्वाचनमा स्वतःस्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन् । स्थानीय तहको निर्वाचन तीव्र तयारीकै बीचमा यसपटक निर्वाचन दिवस’ मनाइँदै छ  । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ । विसं २०७३ देखि  फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

आयोगसँग निर्वाचन व्यवस्थापनका  साढे ६ दशकभन्दा लामो सफल प्रेरणादायी अनुभव र गौरवमय इतिहास छ । मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयता प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी आयोगले कुशलतापूर्वक सम्पादन गरेको छ ।

नेपालमा संविधान जारी भएपछि विसं २०७४ मा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन तथा यसपछि सम्पन्न भएका उपनिर्वाचन र राष्ट्रिय सदस्य निर्वाचनबाट देशभर करिब ४१ हजार ७०० जनप्रनिधिति शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन् । निर्वाचन प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि हो ।

पछिल्लो समय खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारका साथ अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक चेतनाको प्रयासबाट निस्तेजज गर्ने विषयमा साझा संकल्प र इमानकाे आवश्यकता छ ।

सुझावित समाचार