सभामुखले बोलाए कार्यव्यवस्था बैठक, १ बजे संसद् बैठक

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडूले बैठकमा एमसिसी प्रस्ताव लैजाने तयारी गरेका छन् । त्यसमा सहमति जुटे बुधबारको संसद् बैठकमा टेबुल गर्ने कार्यसूची बन्न सक्छ ।

तर, मंगलबार रातिसम्मका घटनाक्रम हेर्दा सहमति जुट्ने सम्भावना न्यून छ । संसद् सचिवालयले मंगलबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा पनि एमसिसी समावेश छैन । दिउँसो १ बजे संसद् बस्दै छ । गठबन्धनकै दलका शीर्ष नेतृत्वबीच पनि एमसिसी अगाडि बढाउनेबारे सहमति भइसकेको छैन ।

कांग्रेस सचेतक पुष्पा भुसालले सरकारका तर्फबाट कार्यव्यवस्था बैठकमा एमसिसी प्रस्ताव आउन सक्ने बताइन् । ‘प्रस्ताव आउने सम्भावना पनि छ,’ उनले भनिन् । तर, माओवादी र एकीकृत समाजवादीले संसद् खोल्नुपर्ने अडान राख्ने तयारी गरेका छन् । संसदमा लैजाने अधिकांश बिजनेसबारे सभामुखले कार्यव्यवस्थामा छलफल गर्ने प्रचलन छ ।

सुझावित समाचार