एमसिसी पास हुन लागेको भन्दै विभिन्न राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेका छन्। सोही आह्वानसहित सडक बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यसमध्ये तीनजनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका थिए।
उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। पेट्रोल छर्केर ट्याक्सी जलाउन लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। समयमै प्रहरी पुगेकोले ट्याक्सी जल्न भने पाएन। परिसरका अनुसार बन्द गराउन हिँड्ने अन्य तीनजना पनि पक्राउ परेका छन्।
परिसरका एसपी दिनेशराज मैनालीले बन्दको सडकमा सामान्य असर देखिएको बताए। उनका अनुसार अन्य क्षतिजन्य घटना भने भएका छैनन्। बन्द आह्वान गरेसँग चोक–चोकमा प्रहरी परिचालित छ। अहिलेसम्म काठमाडौंका विभिन्न ठाउँबाट २३ जना बन्दकर्ता पक्राउ परेका छन् ।