राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्।
सहयोगको बहानामा हस्तक्षेप गर्ने र नेपालीलाई आफैँले चलाउने प्रकारको सहयोग लिनुनहुने भन्दै उनले यस्ता प्रकारका कुरामा पहिले नै स्पष्ट हुनुपर्ने उल्लेख गरे। यद्यपि, विदेशी सहयोग लिँदै लिन्न भनेर बढी क्रान्तिकारी हुनु नहुने पनि उनले बताए।
‘यसलाई हामीले एउटा चिजबाट रेगुलेट गर्ने, लिँदै लिँदैनौँ भनेर त दुनियाँले जहाँ पनि लिनेदिने गरिराख्या हुन्छ। कहीँ ग्रोथको रूपमा होला कहीँ अनुदानको रूपमा होला। हामीले विकसित, सम्पन्न राष्ट्र भन्नेले पनि लिनेदिने गर्छ। त्यसकारण त्यस्तै हिसाबले मात्रै सोचेर लिनै हुन्न भन्नेतिर गएर बढी क्रान्तिकारी हुने नाममा आफैँलाई भोलि सीमाले बाँधिने पनि हुनुहुँदैन। तर, अरूको त्यही बहानामा हामीमाथिको हस्तक्षेप र अरू खालले हामीलाई उनीहरूले नै गाइड गरेर हाम्रा गोपनीयता पनि लाने, हामीलाई पूरै उनीहरूले चलाउने त हुनुहुँदैन। सरकारलाई थाहा छैन भोलि विवादास्पद खालको सहयोग लिएर उसले त्यहाँको पदाधिकारी चलाइदियो, हो यो खालको शंकाले गर्दाखेरी यस्तो कुराको बारेमा अलि प्रस्ट हुनुपर्छ,' तिमिल्सिनाले भने, 'सरकारले एउटा बजेटको सीमाभित्र तिनलाई पनि राख्यो, त्यहाँबाट लिन सक्नेछ भनेर त्यो भयो भने स्वभाविक ढंगले नेपालको बजेटभित्र आउँछ। अरू पनि छन् युएन एजेन्सीहरू, अरूअरू, कहिलेकाहीँ कहाँबाट आयो, कहाँ के सहयोग हो थाहा नभईकन उसको ठाउँबाट भन्दा नेपालमा हामीले यति गर्यौँ भनेको हुन्छ। तर, यहाँ कहीँ पनि नपर्या हुन सक्छ। त्यसकारण त्यहाँ पार्ने के हो त ? आफू खुसी लिने र चल्ने गराउने प्रवृत्तिलाई रोक्नुपर्छ भन्ने हिसाबले यसलाई अलि टाइट गर्नुपर्ने हुन्छ। यस्ता कुराहरूमा पनि भविष्यमा ध्यान दिनुहुनेछ।’
उनले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयकहरू प्रतिनिधिसभामा वर्षौँदेखि रोकिएर रहेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरेका छन्। प्रतिनिधिसभामा यसरी विधेयकहरू रोकिएको सम्बन्धमा सम्बन्धित मन्त्रालयले प्रतिनिधिसभालाई घचघच्याउनुपर्नेमा उनले जोड दिए।