स्थानीय तह निर्वाचन नमुना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दुरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँग आज आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनबारे छलफल गरेको हो । स्थानीय तह निर्वाचनलाई प्रभावकारी तुल्याउन सार्वजनिक सञ्चारमाध्यममार्फत गरिने क्रियाकलापलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफल गरिएको थियो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, निर्वाचनप्रति आममतदातालाई आश्वस्त तुल्याउन, उत्प्रेरित गर्न, सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताए ।

स्थानीय तहको निर्वाचन राजनीतिक दृष्टिकोणबाट सबल संयन्त्र निर्माण गर्ने अवसरका रूपमा रहेको छ । निर्वाचनका लागि आयोग बजेट तर्जुमा गर्ने चरणमा काम गरिरहेको छ । कानुन र स्थानीय तहको संरचनाअनुसार स्थानीय तहमा प्रत्यक्ष निर्वाचित ३५ हजार २२१ प्रतिनिधि आगामी निर्वाचनबाट निर्वाचित भएर आउनेछन् । स्थानीय तहको सभाका लागि थप चार हजार ९६८ जनप्रतिनिधिको पनि चयन हुनेछ ।

सार्वजनिक सञ्चारमाध्यमका क्रियाकलापलाई निर्वाचनमुखी र केन्द्रित तुल्याउन सुझाब दिँदै आयोगले मुलुकमा स्थापना हुने करिब १२ हजार मतदानस्थलमा प्रविधिका माध्यमबाट दस्ताबेजीकरण गर्न सकिने व्यवस्था मिलाउन दुरसञ्चार प्रदायक निकायलाई निर्देशन दिइयो । सामाजिक सञ्जालको बढ्दो प्रयोगको व्यवस्थापन र उपयोग गर्ने सन्दर्भमा आयोगले सहकार्य गर्ने सो अवसरमा जानकारी दिइयो । 

सुझावित समाचार