जीवनभरको कमाइले किनेको जग्गा सडकमा, विपन्न वृद्धाको बिचल्ली

राम्रो जग्गा देखाएर झुक्याई अर्कै कित्ता पास गरिदिने जग्गा दलाल गायत्री पौडेलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण
जीवनभरको कमाइले किनेको जग्गा सडकमा, विपन्न वृद्धाको बिचल्ली

कालोपत्रे सडकमा पर्ने जग्गा नाप्दै नापी कार्यालयका कर्मचारी ।

झापाको दमक नगरपालिका–२ मा डेरा बस्दै आएकी ६६ वर्षीया वृद्धा पुन्यदेवी अधिकारीले ३० वैशाख ०७५ मा अर्जुनधारा–८ मा एक कट्ठा जग्गा बैना गरिन् । उनले आफ्नै भदा गायत्री पौडेललाई पछि तीन लाख दिने सर्तमा दुई लाख दिएर जग्गा बैना गरिन् । त्यो वेला उनलाई पुुलचोक–जयपुर सडकनजिकको कित्ता नम्बर १८४३ को राम्रो जग्गा देखाइयो । २८ असोज ०७५ मा मालपोत कार्यालय चन्द्रगढीबाट वृद्धाको नाममा जग्गा पास पनि भयो । पढ्न–लेख्न नजान्ने पुन्यदेवीलाई अर्कै कित्ता नम्बरको जग्गा पास गरियो । ‘म त केही पढ्न जान्दिनँ । मैले त भदाको विश्वास गरेँ । १८४३ कित्ता नम्बरको जग्गा बैना गरेर १९३३ नम्बरको जग्गा पो पास गरिदिएछन्,’ उनले भनिन् । 

जग्गा पास गरेको धेरै समयसम्म उनले गायत्रीलाई जग्गामा किल्ला गाड्दिन आग्रह गरिन् । तर, गायत्रीले सधैँ ‘पछि’ भन्दै टारे । पुन्यदेवीका श्रीमान् पनि बितेपछि उनी एक्ली भइन् । आग्रह गर्दा नमानेपछि दमकका छिमेकी श्रीप्रसाद शिवाकोटीलाई जग्गा छुट्याइदिन भन्दिनँ आग्रह गरिन् । केही महिनाअघि जग्गा छुट्याउन अर्जुनधारा पुगेपछि मात्र थाहा भयो– उनलाई त भदाले नै कालोपत्रे सडक बेचेका रहेछन् । बारम्बार नापी गर्दा पनि उनको जग्गा पुलचोक–जयपुर सडकमा देखियो । ‘केही नबुझ्ने एकल वृद्धालाई यसरी ठगेको थाहा पाएपछि म अड्डामा जान साथ दिइरहेको छु,’ श्रीप्रसाद भन्छन्, ‘उहाँसँग गाडीमा हिँड्ने भाडासम्म हुँदैन । यस्ती वृद्धालाई कसरी ठग्न सकेका हुन् । हामीले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी पनि हालेका छौँ ।’

जिल्ला प्रशासन कार्यालय झापाले जग्गा नाप्न पठाएपछि नापी कार्यालय चन्द्रगढीका अमिन लालुप्रसाद यादवले फिल्डमा गएर जग्गा नापजाँच गरे । ‘कालोपत्रे सडकमै उहाँ (पुन्यदेवी)को जग्गा पर्छ । केही धुर मात्र जग्गा निस्कन्छ,’ उनले भने, ‘म यही रिपोर्ट प्रमुख जिल्ला अधिकारीलाई पेस गर्छु ।’पुन्यदेवीले यो जग्गा सहजै किनेकी हैनन् । उनको योबाहेक अन्त कतै जग्गा पनि छैन । उनकी एउटी छोरीले विवाह गरिसकिन् । उनले यो जग्गामा सात लाख खर्च गरेकी छन् । यो पैसा जीवनभर अरूको जुठो भाँडा माझेर र कपडा धोएर जम्मा गरेकी हुन् । यति गरेर कमाएको पैसाबाट किनेको जग्गा कालोपत्रे सडक बेचेर आफ्नै भदाले उनीमाथि ठगी गरे । ‘म होटेलमा जुठो भाँडा माझ्थेँ । अरूको लुगा धुन्थेँ । जीवनभर दुःख गरेर कमाएको पैसाले जग्गा किनेको हुँ,’ उनी भन्छिन्, ‘बुढेसकालमा यही जग्गाले भए पनि खान्छु भन्ने थियो । यसरी ठगे । अब म के गरूँ । अड्डा अदालत धाउँदाधाउँदा हैरान भइसकेँ । जग्गा फर्कने अत्तोपत्तो छैन ।’

१८४३ कित्ता नम्बरको जग्गा बैना गरेर १९३३ नम्बरको जग्गा पो पास गरिदिएछन् । बुढेसकालमा यही जग्गाले भए पनि खान्छु भन्ने थियो । यसरी ठगे । अब म के गरूँ ? अड्डा अदालत धाउँदाधाउँदा हैरान भइसकेँ । जग्गा फर्कने अत्तोपत्तो छैन ।
 पुन्यदेवी अधिकारी

वृद्धा पुन्यदेवीको नाममा छविलाल पोखरेलबाट जग्गा आएको हो । गायत्री र छविलाल जग्गा व्यापारका साझेदार हुन् । अहिले पुन्यदेवीले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपछि उनीहरू दौडधुपमा छन् । पुन्यदेवीमाथि ठगी गर्ने उनकै भदा गायत्रीले भने वृद्धामाथि अन्याय नगर्ने बताए । ‘फुपूलाई यसरी बिगार्ने कुनै नियत छैन । हामीले पनि प्रदीप कार्कीबाट जग्गा लिएका हौँ । उहाँसँग कुरा गर्छौं,’ उनी भन्छन्, ‘फुपूलाई अन्याय गर्दिनँ ।’ जग्गा व्यापारीले वृद्धा पुन्यदेवीमाथि अन्याय गरेको अर्जुनधारा–८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले बताए । ‘बोल्न नसक्ने उहाँमाथि अन्याय भएको देखिन्छ । निरीह यस्तो मान्छेलाई अन्याय गर्न हुँदैन,’ उनी भन्छन्, ‘जग्गा बेच्नेले उहाँलाई न्याय दिनुपर्छ । उचित सम्बोधन गर्नुपर्छ ।’

दुईपटक जिल्ला प्रशासन कार्यालयमा छलफल पनि भयो । जिल्ला प्रशासन कार्यालयले फिल्डको नापी गर्न अमिन पनि खटायो । तर, कालोपत्रे सडक बेचेर ठगी गर्नेलाई ‘मिलाउने’ सर्तमा छाडेको छ । ‘जग्गासम्बन्धी निवेदन परेको थियो । हामीले छलफल पनि गरायौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भने, ‘उतै मिलाउँछौँ भनेर सहमति गरेर जानुभएको छ ।’ 

न्यायिक समितिले उजुरी लिएन
अर्जुनधारा नगरपालिकाको न्यायिक समितिले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । मंगलबार आफू ठगिएको उजुरी लिएर नगरपालिकाको न्यायिक समितिमा पुगेकी अधिकारीलाई कर्मचारीले दर्ता नै नगरी फर्काएका हुन् । यद्यपि, उनीहरूले छलफल भने गराइदिने प्रतिबद्धता जनाएका छन् । ‘यो हाम्रो क्षेत्राधिकारमा पर्दैन, ठगीअन्तर्गत मुद्दा चल्छ । तर, उहाँ एकल महिला र पढालेखा नभएको वृद्धा हुनुहुन्छ । उजुरी दर्ता नगरे पनि छलफल गराउँछौँ,’ न्यायिक समितिकी कर्मचारी पुष्पा पौडेलले भनिन्, ‘कालोपत्रे सडक बेचेर उहाँमाथि अन्याय भएको छ । वडाध्यक्षसहित केही दिनमा छलफल गराएर निकास दिन्छौँ ।’ कालोपत्रे सडक बेचेर पाँच लाख खाने बिचौलियाले अहिलेको चलनचल्तीको मूल्य दिनुपर्ने उनले बताइन् ।

 कालोपत्रे सडक राज्यले नै बनाएको अर्जुनधारा नगरपालिकाले जनाएको छ । तर, विगतमा कायम नभएको र चलनचल्तीमा नरहेको सडक हो । यो सडक नक्सामा समेत छैन । तर, पहुँचवालाले नम्बरी जग्गा दिएर राज्यकै लगानीमा सडक बनेको पौडेलले बताइन् । ‘हामीले फिल्डमै गएर अनुगमन पनि गरेका थियौँ । यो स्थानीय सरकार आउनुअघि नै बनेको सडक हो । नक्सामा कायम नभएको सडक भएकाले नम्बरी जग्गामा छ,’ उनले भनिन्, ‘नम्बरी जग्गामा सडक भए पनि यसरी कालोपत्रे सडक बेच्नु त मिलेन नि ! राम्रो तोरीबारी देखाएर कालोपत्रे सडक बेच्न मिल्छ ?’ 

नगरपालिकाका कर्मचारीले सडक जनप्रतिनिधि आउनुपूर्वको भएको जिकिर गरे पनि वडाध्यक्ष गोपीचन्द्र गौतमले भने ०७६ मा मात्र सडक बनेको दाबी गरे । उनले नम्बरी जग्गामा स्थानीयले सडक दिएको आधारमा कालोपत्रे भएको बताए । ‘पुन्यदेवीले ०७५ मा जग्गा किन्नुभएको हो । यो सडक ०७६ मा मात्र कालोपत्रे भएको हो,’ उनले भने ।

सुझावित समाचार