भ्रातृ संस्थाको महाधिवेशनका लागि दबाब दिन कांग्रेस संस्थापनइतर विद्यार्थी नेताहरूले मौन प्रदर्शन गर्ने

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)लगायतका म्याद सकिएका भ्रातृ संस्थाहरूको महाधिवेशनको लागि नेतृत्वलाई दबाब दिन संस्थापनइतर समूहनिकट विद्यार्थीले मौन धर्ना गर्ने भएका छन्। संस्थापनइतर समूहका विद्यार्थी नेताहरूले नेपाली कांग्रेसको विधान कार्यान्वयन गर्न दबाब दिन बिहीबार मौन प्रदर्शन गर्ने भएका हुन्। 

मौन प्रदर्शन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको नेविसंघका नेता भुवन भट्टले नयाँ पत्रिकालाई जानकारी दिए। बिहीबार नै कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै छ। दिउँसो २ बजे बस्ने बैठकमा म्याद सकिएका भ्रातृ संस्थाको विषयमा छलफलको एजेन्डा रहेको छ। 

विद्यार्थी नेताहरूले नेपाल विद्यार्थी संघलगायत म्याद सकिएका भ्रातृ संस्थाहरूको विधानबमोजिम नयाँ समिति बनाएर महाधिवेशन गराउन माग गर्दै आएका छन्। त्यसैको खबरदारीस्वरूप  विधान कार्यान्वयनका लागि दबाब अभियानअन्तर्गत बिहीबार मौन प्रदर्शन गर्न लागिएको नेता भट्टले जानकारी दिए। 

‘नेविसंघको म्याद पटकपटक गरी तीनपटकसम्म थपियो । फेरि पनि महाधिवेशन नगर्ने अवस्था नआओस् भनेर हामीले दबाबस्वरूप मौन प्रदर्शन गर्न लागेका हौँ,’ उनले भने, ‘नेविसंघको वर्तमान नेतृत्वलाई कांग्रेस विधानले चिन्दैन । विधानअनुसार नेविसंघको नेतृत्व रिक्त भइसकेको छ। म्याद सकिएका सबै भ्रातृ संस्थाको महाधिवेशनका लागि नयाँ समिति गठन हुनुपर्छ।’

नेविसंघ अध्यक्ष राजीव ढुंगाना १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएपछि समेत विधानविपरीत संगठन प्रमुखको जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्। कांग्रेस विधानले पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संगठनको पदाधिकारी वा सदस्य हुन नपाउने स्पष्ट व्यवस्था गरेको छ। पार्टीको पदाधिकारी वा सदस्य भ्रातृ संगठनको कुनै पदमा रहन पाउँदैन। कांग्रेस विधानको दफा ४२ को उपदफा १ (ङ) मा पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संस्थाको पदाधिकारी वा सदस्य हुन नपाउने स्पष्ट व्यवस्था छ। 

कांग्रेसले पछिल्लो समय साउन ३० मा म्याद समाप्त भएका पार्टीका भ्रातृ संघहरूको पदावधि ६ महिना थप गर्ने निर्णय गरेको थियो। नेविसंघको हकमा थपिएको समयावधिसमेत माघ १६ मा सकिएको छ। तर, कांग्रेसले महाधिवेशनका कुनै प्रक्रिया अगाडि बढाएको छैन।

सुझावित समाचार