माओवादीलाई घेरा हालेर सखाप पार्न प्रतिक्रियावादी लागेका छन् : प्रचण्ड

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

विप्लव नेकपाको जुम्ला जिल्ला समिति माओवादी केन्द्रमा समाहित
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र देशबाहिरका प्रतिक्रियावादी शक्तिहरू माओवादी सिध्याउने षड्यन्त्रमा लागेको दाबी गरेका छन् । एमसिसी अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेका वेला प्रचण्डले माओवादीलाई सखाप पार्ने षड्यन्त्र भएको दाबी गरेका हुन् ।

‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन् । हामी यति ठूलो परिवर्तनका वाहक विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ,’ प्रचण्डले मंगलबार आफ्नै निवासमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जुम्ला जिल्ला समितिलाई पार्टी प्रवेश गराउँदै भने । 

प्रचण्डले ढिलो–छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरू एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । विभाजनका घाउहरू बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको प्रचण्डको भनाइ थियो । ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन,’ प्रचण्डले भने । 

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सहसेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए । अबको समाजवादी क्रान्तिका लागि माओवादीमा फर्किएको नवप्रवेशीको भनाइ थियो । 

See More On

सुझावित समाचार