घोडा चढ्न ढोरपाटन

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण
घोडा चढ्न ढोरपाटन

घोडा चढेर रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : नयाँ पत्रिका

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन भ्रमणमा जाने पर्यटकको एउटा रोजाइ हुन्छ घोडचढी । हिउँले छोपिएको समथर उपत्यका, पर्यावरणीय विविधता भएको स्थानमा घोडा चढेर घुम्नु पर्यटकका लागि जीवनभरको सम्झना हुने गर्छ । यसै कारण कोरोना संक्रमण जोखिमको बेवास्ता गर्दै यहाँ सयौँ पर्यटक पुगेका छन् । 

सिकार आरक्ष प्रत्येक वर्ष दुई सिजनमा सिकारका लागि खुला हुने गर्छ । सिकार खेल्ने अनुमति पाएका बाह्य पर्यटक हेलिकोप्टरमार्फत ढोरपाटन पुग्छन् । तर, यहाँ आएपछि उनीहरू पनि घोडा नै प्रयोग गर्ने स्थानीय होटेल व्यवसायी सुरज पौडेलले बताए । गत १२ कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढोेरपाटन सिकार आरक्षको अवलोकन गरेपछि यहाँ आउने पर्यटक बढ्दै गएको उनको भनाइ छ । 

महामारीबीच पनि यो वर्ष तीन हजार पाँच सय पर्यटक पुगेको स्थानीय होटेलहरूको तथ्यांक छ । पौडेलले भने, ‘वर्षाको समयबाहेक यहाँ दैनिक सयभन्दा बढी पर्यटक आउने गर्छन् । विषेशतः चैत–वैशाखमा लालीगुराँस फुल्ने वेला पर्यटकको चाप बढ्छ ।’ यो आरक्ष बागलुङ, म्याग्दी र रुकुमको एक हजार तीन सय २५ वर्ग किमिमा फैलिएको छ ।

हिउँसँगै घोडचढी रमाउँदै
मंसिर, पुस र माघ महिनामा यस क्षेत्रमा बाक्लो हिमपात हुने हुँदा पर्यटकहरू धेरै आउने गरेको स्थानीय धनीमला विकले बताइन् । 

घोडचढी स्थानीयको रोजीरोटी
ढोरपाटन उपत्यकमा आउने पर्यटकले घोडा चढेर मनोरञ्जन मात्रै लिएका छैनन्, स्थानीय केही युवाले घोडा चढाएर रोजीरोटीको व्यवस्था पनि गरेका छन् । स्थानीय युवा दीपक विक भन्छन्, ‘पर्यटकको मनोरञ्जन र घुमाउने प्रयोजनका लागि हामीले घोडा पालेका छौँ । यहाँ आउने पर्यटक घोडा चढेर जाने गर्छन् । दिनकै दुईदेखि पाँच हजारसम्म कमाइ हुन्छ ।’

बाग्लुङ बजारबाट १२० किमि दूरीमा ढोरपाटन
ढोरपाटन उपत्यका बाग्लुङ सदरमुकामबाट करिब १२० किलोमिटरमा छ । मध्यपहाडी लोकमार्ग हुँदै ९० किलोमिटरको दूरीमा ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा पुग्न सकिन्छ । बुर्तिबाङबाट करिब ३० किलोमिटरको दूरीको कच्ची सडकमार्फत यहाँ पुग्न सकिन्छ ।

सुझावित समाचार