सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ०७९ साल वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नयाँ पत्रिकालाई बताए। यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो।
सोमबार पनि मन्त्रिपरिषद् बैठक बस्नुअघि निर्वाचन आयोगका पदाधिकारीसँग सरकारले परामर्श गरेको थियो। स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ ०७९ मा सकिँदै छ। उक्त ऐनअनुसार जनप्रतिनिधिमा निर्वाचित भएको मितिको साताैँ दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था गरिएको छ। वैशाख ३० गते निर्वाचन हुँदा जेठ ६ गतेबाट स्थानीय तहमा नयाँ नेतृत्वले पदवहाली गर्नेछन्।