माेरङको धनपालथान र ललितपुर गोदावरीस्थित थेचोमा भएको तीनजना व्यवसायीको हत्यामा संलग्न थप दुईजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर र मोरङमा भएको हत्याको कनेक्सन एउटै भएको सूचना बाहिरिएपछि फरार भएका गिरोहका सदस्यहरूमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ रंगेली नगरपलिका–३ आमतोलाका ३३ वर्षीय मोहम्मद सुभाम र सुनसरी देवानगञ्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहम्मद हकिम छन् । दुवैजनाले शव गाड्न खाल्डो खन्न सहयोग गरेको प्रहरीले बताएको छ ।
प्रहरीले २१ माघमा तीन व्यवसायीको हत्यामा संलग्न मोरङ धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका–४ सिसबनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र मुख्य योजनाकार सिरहा नगरपालिका घर भई काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल पक्राउ गरेको थियो । व्यवसायीको हत्यामा अझै केही व्यक्तिहरू संलग्न रहेको र उनीहरूको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
नाफाको लोभमा साझेदारहरू ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित थेचोमा रहेको प्रदीपकुमार थापाको घरछेउमा २८ मंसिरमा हत्या गरेर खाल्डो खनेर गाडिएका तेह्रथुमको संक्रान्ति गाउँपालिका–२ का ६३ वर्षीय मोहन लिम्बूको शव २० माघमा उत्खनन गरेर बरामद गरेको थियो ।
यस्तै, मोरङको धनपालथान गाउँपालिका–७ स्थित बोर्डिङ टोलनजिकै रहेको उखुबारीमा १२ र १३ माघमा फेला परेको सुनसरी धरान उपमहानगरपलिका–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भु चौधरीको शव बरामद भएको थियो ।
तीनैजना व्यवसायीको हत्या मुख्य योजनाकार मण्डलले भाडाका ‘किलर’ हरूलाई सुपारी (नगद) दिएर हत्या गर्न लगाएका थिए । मण्डलले जग्गा बिक्रीबापतको कमिसनका लागि पहिले ललितपुरमा २८ मंसिरमा लिम्बू, ५ पुसमा श्रेष्ठ र ७ पुसमा चौधरीको हत्या गर्न लगाएका थिए । तीनैजना व्यवसायीलाई किलर समूहले एकै प्रकारले डोरी र गम्छाले घाँटी कसेर हत्या गरी पछि गहिरो खाल्डो खनेर नुन हालेर गाडेका थिए ।
बन्द कोठामा पेस्तोल बरामद, कांग्रेसका वडा सभापति पक्राउ
काठमाडौं/ काठमाडौंको कपुरधारास्थित एक घरमा बरामद पेस्तोलको अनुसन्धानका क्रममा कांग्रेसका वडा सभापति पक्राउ परेका छन् । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–७ का सभापति मिलनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले भाडामा लिएको कोठाभित्र प्रहरीले गत ८ कात्तिकमा पेस्तोल, चारवटा गोली र दुईवटा म्यागजिन बरामद गरेको थियो । लामो समयसम्म पनि कोठामा उनी नआएको र भाडासमेत नतिरेको भन्दै घरधनीले वडा कार्यालयमा उजुरी दिएपछि प्रहरीको रोहवरमा कोठा खोल्दा पेस्तोल बरामद भएको हो ।
काठमाडौंमा नभेटिएपछि प्रहरीले उनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई पत्राचार गरेको थियो । सोलुखुम्बु प्रहरीले बिहीबार पक्राउ गरी राईलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको छ । वृत्तका प्रमुख डिएसपी दुर्गा दाहालका अनुसार हातहतियार तथा खरखजना मुद्दामा राईमाथि अनुसन्धान भइरहेको छ ।
राईले भने आफ्नो कोठामा अन्य कसैले हतियार राखिदिएको दाबी गरेका छन् । उनीसँग दुईवटा नागरिकता र पासपोर्ट भएको आशंकामा समेत प्रहरीले छानबिन थालेको छ । सोलुखुम्बुबाट मिलनकुमार राई तथा सुनसरीबाट मिलन राईको नाममा छुट्टाछुट्टै पासपोर्ट लिएका हुन् । त्यससम्बन्धी कागजपत्र उनको कोठाबाटै बरामद भएपछि प्रहरीले त्यसमा छुट्टै छानबिन थालेको हो ।