कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानुनी प्रावधान राख्न नहुने बताएका छन्। शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ को प्रारम्भिक मस्यौदा प्रतिवेदनमाथिको छलफलका क्रममा मन्त्री यादवले यस्तो धारणा राखेका हुन्।
खाद्यवस्तुको कारणले कसैको निधन भएमा उत्पादक कम्पनी तथा उद्योगी व्यवसायीलाई मात्रै दोषी देखाउन नहुने उनले बताए। नेपालमा कतिपय मृत्यु असन्तुलित खानाको कारण हुने गरेको भन्दै उनले यस्ता विषयमा उद्योगीलाई अपराधी बनाउने हो भने उद्योग, व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने बताए। यद्यपि उत्पादक कम्पनी, उद्योगी, व्यवसायीलाई अनुशासनमा राख्नका लागि कारबाही, दण्ड, सजायको व्यवस्था राखे पनि कडा व्यवस्था राख्न नहुनेमा उनले जोड दिए।
‘उद्योगपतिहरूको भनाइ के रह्यो भने हामीले फौजदारी मुद्दा लगाउँदाखेरी के आधार छ ? उसले कुनै प्रकारको उत्पादन गर्छ भने त्यो बजारमा जान्छ। बजारमा कति तहमा जान्छ ? तह बाई तह जान्छ। त्यसकारणले अहिले पनि नेपालमा असन्तुलित खानाको कारणले मान्छेको मृत्यु भएको छ। मानिसहरूले शरीरको क्षमताभन्दा बढी खाने, नसालु पदार्थ खाने मान्छेको मृत्यु हुन्छ। अनि त्यसको जिम्मेवारी कसले लिने ? मान्छेको खानपिनको कारणले पनि मृत्यु भएको हुन्छ। त्यसकारणले दण्ड, सजाय नै अपराधी नै बनाइदिने हो भने कुन उद्योगपतिले यहाँ काम गर्छ ? उहाँहरूले स्पष्ट भन्नुभयो, यो विधेयकमा यो प्रयोजन राख्नुभयो भने हामीले उद्योगधन्दा बन्द गरिदिनुपर्छ,' मन्त्री यादवले भने।