आइएफआरसीका महासचिव चापागाईं नेपाल भ्रमणमा

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ  (आइएफआरसी)का महासचिवमा जगन्नाथ चापागाईं नेपाल भ्रमणमा आएका छन् । आपतकालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईं मंगलबार साँझ यहाँ आइपुगेका हुन् ।  नेपाल भ्रमणका क्रममा उनले यहाँस्थित आइएफआरसी र नेपाल रेडक्रसका गतिविधिबारे जानकारी लिने बताइएको छ । 

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील ५२ वर्षीय उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए ।  सो जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको बताइएको छ ।  विश्वका रएक सय ९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एसियाबाटै पहिलोपटक उनलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो । बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् । 

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड– १९ प्रतिकार्यमा अग्रपंक्तिमा जुटिरहेका छन् । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानवसिर्जित विपत् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ । महासचिव चापागाईंले मानवीय सेवाका क्षेत्रमा पुर्याएको  काम तथा नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ ।  

नेपाल रेडक्रसका अनुसार आइएफआरसीले कोभिड– १९ को सुरुआती चरणमा कोभिड उपचारका लागि स्वास्थ्य संस्थामा उपकरण तथा स्वास्थ्यकर्मीका क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, मास्क, स्यानिटाइजर सहयोग गरेको थियो भने पछिल्लो चरणमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, थर्मलगन, शव व्यवस्थापनका लागि झोलालगायतका सामग्री तथा खोपका लागि समन्वयसमेत गरेको छ ।  

सुझावित समाचार