कांग्रेस महामन्त्री गगन थापाले नेविसंघको महाधिवेशनबारे केही दिनभित्रै पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । आगामी शुक्रबार बस्ने पार्टीको बैठकले नेविसंघको महाधिवेशनबारे निर्णय लिने जानकारी दिए ।
उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न नेविसंघका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । मंगलबार नेविसंघका नेता तथा कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा थापाले नेविसंघभित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाइ नहुने बताए।
थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघभित्रकै समानान्तर गतिविधिका कारण महाधिवेशन हुन नसकेको उनले स्मरण गराए ।
नेविसंघका नेताहरूले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै थापालाई अनुरोधपत्र बुझाएका थिए ।