कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले मनपरी ढंगले कर्मचारी भर्ना गरेको छ । गाउँपालिकाले विज्ञापन नै ननिकाली गत ३० पुसदेखि लागू हुने गरी तीनजना कर्मचारी भर्ना गरेको पाइएको छ । दैनिक ज्यालादारी भन्दै कर्मचारी भर्ना गरेपछि स्थानीय राजनीतिक दल आन्दोलित भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएर चुनावको चर्चा भइरहेका वेला गाउँपालिकाले नीरज कठायत, दीपेन्द्रबहादुर विष्ट र सुनिता रानालाई भर्ना गरेको हो । उनीहरूलाई ६ महिनाका लागि भनेर भर्ना गरिएको छ । नियुक्ति पाउने स्थानीय तहका जनप्रतिनिधि, एमाले नेताका आफन्त भएको भन्दै स्थानीय राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् ।
सरकारी कार्यालयमा आफन्तलाई जागिर दिने थलो बनाएको भन्दै माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेसले गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै गैरकानुनी रूपमा भर्ना गरिएका व्यक्तिको नियुक्ति खारेजीको माग अघि सारेका छन् । कडायत बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीका ज्वाइँ, विष्ट एमाले जिल्ला सदस्य वीरबहादुर विष्टका भतिजा हुन् ।
माओवादी केन्द्रले गैरकानुनी रूपमा भर्ना गरिएका कर्मचारीको नियुक्ति खारेजीको माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । माओवादी बेलडाँडीका सचिव चेतबहादुर शाहले खल्तीबाट आफन्तलाई जागिर दिने कामले दण्डहीनता र भ्रष्टाचार मौलाएको बताए । कांग्रेस बेलडाँडीका सभापति गजबहादुर विष्टले गैरकानुनी रूपमा भर्ना गरिएका कर्मचारीको नियुक्ति तत्काल खारेजी हुनुपर्ने बताए । ‘यो सरासर गलत भएको छ,’ उनले भने, ‘कर्मचारी चाहिएकै भए पनि प्रक्रियाअनुरूप भर्ना गर्नुपर्छ ।’
एकीकृत समाजवादी बेलडाँडीका नेता हरिप्रसाद शर्माले गाउँपालिकाको बेथितिविरुद्ध आपत्ति जनाएको बताए । ‘गैरकानुनी त्यसमा पनि आफन्त भर्ना गरेको विरोधमा हामीले यसअघि नै गाउँपालिकाको ध्यानाकर्षण गराइसकेका छौँ,’ नले भने, ‘सात दिनको म्याद दिएका छौं, नियुक्ति खारेजी नभए चरणबद्ध आन्दोलन गर्छौँ ।’ बेलडाँडी गाउँपालिका प्रवक्ता अम्मर खत्रीले कार्यपालिकाको निर्णयविनै गरिएको कर्मचारी नियुक्ति गैरकानुनी भएको बताए । उनले सोमबार बस्ने कार्यपालिका बैठकबाट नियुक्ति खारेजी गरिने दाबी गरे ।