योजनाबद्ध रूपमा मलाई पार्टीबाट अलग्याउने प्रयास भइरहेको छ : कमल थापा

आइतबार, १६ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफूलाई पार्टीबाट अलग्याउने प्रयास भइरहेको बताएका छन्। आइतबार एक वक्तव्य जारी गर्दै थापाले आफूलाई महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा संलग्न नगराइएको भन्दै असन्तुष्टि पोखेका छन्।

'पार्टीको वृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनुभएको छ। महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन। पार्टीका कार्यक्रम र गतिविधिबारे मलाई कुनै सूचना र जानकारीसमेत दिइएको छैन। योजनाबद्ध रूपमा मलाई अलग्याउने प्रयास भइरहेको देख्छु,' पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै वक्तव्यमा उल्लेख गरिएको छ।

थापाले राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा नभएको कुरा भन्न हिचकिचाउन नहुने बताएका छन्। 'राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाती खोलेर भन्न हिच्किचाउनुहुँदैन। राजसंस्थाप्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो। राजसंस्था पार्टी राजनीतिभन्दा माथि सबैको साझा भएर रहन सक्नुपर्छ,' वक्तव्यमा भनिएको छ।

सुझावित समाचार