राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि राजदूतमा पूर्वपरराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्य राजदूत नियुक्त भएका हुन् ।
सरकारले सिफारिस गरेअनुसार संसदीय सुनुवाइ समितिले उनको नाम २० मंसिरमा पारित गरेको थियो । बेलायत सरकारले उनका लागि एक साताअघि एग्रिमो पठाएको थियो । उनीसँगै सिफारिस भएका अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको एग्रिमो आइनसकेको परराष्ट्र स्रोतले बताएको छ ।