संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुन्छ : मन्त्री कार्की

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन्। नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन हुने प्रस्ट्याए। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानमा व्यवस्था भएअनुसार सबै तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारले त्यससँग बाझिएका कानुनहरू संशोधनका लागि कानुनविद्हरूसँग छलफल गरिसकेको पनि स्मरण गराए। मन्त्री कार्कीले संविधानले परिकल्पना गरेअनुसार नै स्थानीय तहलाई अझ बढी प्रभावकारी बनाउने गरी अघि बढन वर्तमान सरकार प्रतिबद्ध रहेको दोहोर्याए। 

मन्त्री कार्कीले संसद् अवरुद्ध नपार्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पुनः आग्रह गरे। उनले एमालेजस्तो प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसद्लाई अवरुद्ध पार्न नहुने बताए। 

सुझावित समाचार