राज्यलाई छलेर पाल्पाको श्रीडाँडामा सिद्धार्थ मिनरल्सले गर्‍यो ४९ करोडको दोहन

मंगलबार, ११ माघ, २०७८
डिजिटल संस्करण
राज्यलाई छलेर पाल्पाको श्रीडाँडामा सिद्धार्थ मिनरल्सले गर्‍यो ४९ करोडको दोहन

तस्बिर : नारायण न्यौपाने/नयाँ पत्रिका

स्थानीयको गुनासो– अवैध उत्खननले जंगल मासिँदा पानीको मुहान सुक्यो, सडकमा पहिरो खस्यो, भान्सादेखि ओछ्यानसम्म धुलो पुगेर बस्नै सकस छ 

पाल्पाको तिनाउ गाउँपालिका– ३ श्रीडाँडामा १३ वर्षदेखि चुनखानी उत्खनन गर्दै आएको सिद्धार्थ मिनरल्स प्रालिले खानी विभागको निर्देशनसमेत अटेर गरेर दोहन गर्ने गरेको छ । अनधिकृत रूपमा ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँबराबरको चुनढुंगा उत्खनन गरे पनि मन्त्रीको ‘पावर’मा एक लाखमै उम्किएको सिद्धार्थ मिनरल्सले त्यसपछि पनि विभागको निर्देशन अटेर गर्दै आएको छ । 

अधिक उत्खनन गरेर राज्यलाई आर्थिकलगायत क्षति पुर्याएको सन्दर्भमा छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा विभागले सिद्धार्थ मिनरल्सलाई खानी सञ्चालन रोक्न गत २८ साउनमै पत्र काटेको थियो । तर, २८ भदौमा उसले खानी उत्खनन र नवीकरणका लागि अनुमति दिन विभागलाई पत्र लेख्यो । विभागले २८ साउनमै खानी सञ्चालन नगर्न निर्देशन गरिसकेको थियो । तर, विभागको अनुमति नआउँदै उसले उत्खनन सुरु गर्यो । सिद्धार्थ मिनरल्सले १२ पुसमा त विभागलाई पत्र नै लेखेर खानी सञ्चालन गरिरहेको जानकारी गरायो । २२ पुसमा विभागले पुनः पत्र काटेर विगतमा भएको अधिक उत्खननबारे अख्तियारले छानबिन गरिरहेको पुरानै निर्देशन सम्झाउँदै खानी बन्द गर्न निर्देशन दिएको छ । 

खानी विभागले पाल्पा जिल्ला प्रहरी, जिल्ला प्रशासन, डिभिजन वन कार्यालय र तिनाउ गाउँपालिकालाई बोधार्थ बनाएर चिठी काटेको हो । त्यसपछि २७ पुसमा डिभिजन वन कार्यालय पाल्पाले पनि पत्र काटेर तत्काल खानी बन्द गर्न निर्देशन दिएपछि एक सातायता उत्खनन रोकिएको छ । डिभिजन वन पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले विभागबाट बोधार्थ आएलगत्तै अनुगमन गरेर खानी बन्द गरिएको बताए । 

स्थानीयको गुनासो– अवैध उत्खननले जंगल मासिँदा पानीको मुहान सुक्यो, सडकमा पहिरो खस्यो, भान्सादेखि ओछ्यानसम्म धुलो पुगेर बस्नै सकस छ 
सिद्धार्थ मिनरल्स प्रालिले अवैध उत्खनन गर्दा खानीआसपासका नागरिकको उठीबास लाग्ने अवस्था आएको छ । खानी दोहनका कारण त्यसमुनि रहेको सिद्धार्थ राजमार्ग हरेक वर्ष पहिरोले पुरिएर अवरुद्ध हुने गरेको छ । खानी क्षेत्रबाट खस्ने पहिरोले खासगरी बर्खामा राजमार्ग अवरुद्ध हुने गरेको स्थानीय दिलबहादुर चिदीले गुनासो गरे । अनुमति पाएभन्दा बढी वनक्षेत्रसमेत दोहन गर्दा पानीको मुहान पनि सुकेको छ । तिनाउ– ३ मरेकमा वितरण हुने खानेपानीको मुहान चुनखानीले पुरेको चिदीले बताए । 

खानीको धुलो भान्सादेखि ओछ्यानसम्म पुगेर हैरानी व्यहोरेको रिब्दीकोट– २ देउरालीका दीपक परियारको गुनासो छ । आफूहरूले सफा खाना कहिल्यै खान नपाएको उनले बताए । खानीबाट चुनढुंगा बोकेर धुलो उडाउँदै टिपर दौडिँदा माथागडी, तिनाउ, निस्दी र रैनादेवी छहरा गाउँपालिकाका स्थानीय प्रभावित छन् । 

कैयौँले धेरथोर रोजगारी पाएकाले खानी सञ्चालकको लापरबाहीका विषयमा स्थानीयहरू नबोल्ने गरेको स्थानीय दीपक थापा बताउँछन् । ‘मेरो दाइ नै यहीँ काम गर्छन् । आफ्नै मान्छेले काम पाएको छ भन्ने हुन्छ । त्यसैले खानीवालाले वन मासेको, धेरै खनेको जान्दाजान्दै पनि हामी बोल्दैनौँ । नियमनमा त राज्यले राख्नुपर्यो नि !’ 

सिद्धार्थ मिनरल्सले स्वीकृति लिएभन्दा बढी क्षेत्रफलमा उत्खनन गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । स्थानीय तहबाट खानीको मापदण्ड र उत्खननको क्षेत्रफल नापजाँच गर्न कठिन हुने भएकाले निगरानी गर्न नसकिएको उनको भनाइ छ ।

सुझावित समाचार