संक्रमण तीव्र फैलिए पनि कोभिडको पहिलो र दोस्रो लहरमा जस्तो अस्पतालमा संक्रमितको चाप छैन, गम्भीर विरामी नदेखिएकाले महामारी बिस्तारै कमजोर बन्दै गएको विज्ञहरूको अनुमान
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर आइतबार ३२.८ प्रतिशत पुगेको छ । तर, संक्रमणको आधारमा अस्पताल भर्नादर भने न्यून देखिएको छ । आइतबार देशभर १५ हजार एक सय ३१ जनामा परीक्षण गर्दा चार हजार नौ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० पुगेको छ ।
संक्रमण तीव्र फैलिए पनि पहिलो र दोस्रो लहरमा जस्तो अस्पतालमा चाप छैन । गम्भीरता कम देखिनुले कोभिड महामारी बिस्तारै कमजोर बन्दै गएको विज्ञहरूले टिप्पणीसमेत गर्र्दै आएका छन् । संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि सरकारले कोभिड आदेश जारी गरेकोे छ । आदेशले कोभिड नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा छ ।
दोस्रो लहरको तुलनामा अस्पताल भर्नादर अहिले निकै कम पाइएको छ । नेपालमा दोस्रो लहर सुरु भएपछि पहिलोपटक २८ वैशाखमा नयाँ संक्रमितको संख्या पाँच हजार नाघेको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २८ वैशाखमा पाँच हजार दुई सय २५ जनामा संक्रमण देखिएको थियो । सोही समयमा अस्पताल भर्ना सात हजार ९४ थियो । काठमाडौं उपत्यकामा मात्र एक हजार सात सय ७४ जना अस्पतालमा थिए ।
वैशाख अन्तिमसम्म सक्रिय संक्रमितको संख्या एक लाख हाराहारी थियो । यस्तै, तेस्रो लहर सुरु भएयता पहिलोपटक गत शुक्रबार (३० पुस)मा २४ घन्टाभित्रमा पाँच हजारभन्दा बढी नयाँ संक्रमित देखिएका थिए । शुक्रबारसम्म अस्पतालमा नौ सय ४४ जना मात्र भर्ना थिए । हाल संक्रमणका कारण एक हजार ९६ जना अस्पतालमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ, जुन दोस्रो लहरको तुलनामा झन्डै ८७ प्रतिशत कम हो ।
विश्व स्वास्थ्य संगठनलगायतका अन्य अध्ययनले पनि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भएको बताउँदै आएका छन् । दैनिक डेढदेखि दुई लाख संक्रमित देखिइरहेका भारत, बेलायत, अमेरिकालगायतका देशमा पनि पहिलो र दोस्रो लहरको तुलनामा अस्पताल भर्नादर र मृत्युदर न्यून छ । डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्ट कम गम्भीर रहेको डब्लुएचओले यसअघि नै बताइसकेको छ । नेपालमा पनि ओमिक्रोन लहरको प्रभाव गम्भीरताको आधारमा कम रहेको मान्न सकिन्छ ।
डेल्टाले महामारी फैलाएको दोस्रो लहरमा २५ हजार संक्रमित हुँदा तीन सयभन्दा बढी आइसियू र झन्डै एक सय बिरामी भेन्टिलेटरमा कोभिडसँग लडिरहेका थिए । हाल अस्पताल भर्नादरसँगै आइसियू र भेन्टिलेटरमा पुग्नेको संख्यासमेत न्यून रहेको बताउँछन् डा. प्रवीण नेपाल । ‘ओमिक्रोनका अधिकांश बिरामीमा घाँटीमा बढी समस्या देखिएकाले गम्भीर बिरामी कम पर्ने देखिएको छ । फोक्सोसँग सम्बन्धित समस्या कम हुने र अक्सिजनको आवश्यकतासमेत कम देखिएकाले अहिले बिरामी गम्भीर हुने जोखिम कम भएको हुन सक्छ,’ उनले भने । आइतबार देशभर आइसियूमा रहेको एक सय २२ जनामध्ये २९ जना भेन्टिलेटरमा छन् ।
सक्रिय संक्रमितको आधारमा ३८ प्रतिशत कम अस्पताल भर्ना
सक्रिय संक्रमित संख्याको आधारमा समेत पछिल्लो लहरमा अस्पताल भर्नादर निकै कम छ । दोस्रो लहरमा १४ वैशाखमा पहिलोपटक सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको थियो । तर, सोही समयमा संक्रमणका कारण दुई हजार आठ सय ७३ जना कोभिड संक्रमित अस्पताल भर्ना भइसकेका थिए । यस्तै, ओमिक्रोन फैलिएपश्चात् आइतबार सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । तर, हाल संस्थागत आइसोलेसनमा एक हजार ९६ जना मात्र उपचाररत छन् जुन दोस्रो लहरको तुलनामा ३८.१५ प्रतिशतले कम हो ।
स्वास्थ्यकर्मी अभाव समस्या बन्न सक्छ : चिकित्सक
तीव्र संक्रमणका कारण अस्पताल भर्नादर नबढे पनि संक्रमित बढ्दा नियन्त्रण चुनौती बन्दै जान सक्ने चिकित्सकहरूको आकलन छ । लक्षण नदेखिँदा परीक्षण गर्नेको संख्या कम भए पनि समुदायमा फैलिइसकेको हुन सक्ने डा. नीरज बम बताउँछन् । ‘गम्भीर बिरामी कम हुँदा अस्पतालका बेड भरिएका छैनन् । तर, पिसिआर परीक्षणमा अधिकांश स्वास्थ्यकर्मी पजिटिभ देखिँदा समस्या बढ्दै गएको छ । बिस्तारै कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीको अभाव मुख्य चुनौती बन्न सक्छ,’ उनले भने । हाल उपत्यकामा मात्रै संस्थागत आइसोलेसनमा रहेकामध्ये दुई सय ७१ जनरल वार्डमा, दुई सय २४ एचडियूमा, ५३ जना आइसियू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।