सोलुखुम्बुमा पुस २३ देखि जारी नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनले सहमतिबाटै नेतृत्व चयन गरेको छ । निर्धारित मितिभन्दा एक दिन ढिला गरी महाधिवेशन सम्पन्न गरेको एमालेले डुफकुमार बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको छ । उनी नेचासल्यान गाउँपालिकाका प्रमुख पनि हुन् ।
तत्कालीन माओवादी केन्द्रसँगको एकताअघिको एमाले जिल्ला कमिटीमा उपाध्यक्ष रहेका बाँस्तोलाले नेकपा विवादको समयमा केपी ओली पक्षको जिल्ला अध्यक्ष बनेका थिए । अदालतको फैसलापछि पूर्ववत् रूपमा फर्किएको केही समयपछि अध्यक्ष मानवीर राईले राजीनामा दिएर बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
नेकपा विवादको समयमा ओली पक्षघरमा देखिएका तत्कालीन माओवादीका नेता आसकुमार राई ‘शिशिर’लाई नै सातौँ अधिवेशनले सचिवको जिम्मेवारी दिएको छ । राईले पार्टी पूर्ववत् रूपमा फर्केपछि पनि एमालेमै रहेर जिल्ला सचिव पद सम्हालेका थिए ।
आइतबार अबेर जुटेको सहमतिबाट हर्कबहादुर राई उपाध्यक्ष, दीपक राजभण्डारी र मिङमा शेर्पा उपसचिव बनेको एमाले नेचासल्यान अध्यक्ष जगनाथ बाँस्तोलाले जानकारी दिए । पदाधिकारीअन्तर्गतको केही पदमा आकांक्षी बढेपछि सहमतिकै लागि एक दिन बढी समय थपिएको थियो । जिल्ला कमिटी ९० सदस्यीय बनेको छ।