आगो निभाउने क्रममा मेचीनगरका एकको मृत्यु

बिहिबार, २२ पुष, २०७८
डिजिटल संस्करण

झापाको मेचीनगरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । मेचीनगर– ७ मा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको हो । आगो निभाउने क्रममा मेचीनगर– ८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा उनको मृत्यु भएको हो ।

आगो निभाउने क्रममा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । घाइते हुनेमा मेचीनगर– ८ का ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड– ९  का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर– ७ का ३२ वर्षीय दीपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षीय चन्दन गौतम, सोही ठाउँका ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय  विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र मेचीनगर– ७ का ३६ वर्षीय निर्मल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले जानकारी दिए । यस्तै, आगलागीमा मेचीनगर– ८ की आठ वर्षीया सुशीला अधिकारी पनि घाइते भएकी थिइन् । स्थानीय अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएको प्रहरीले जनाएको छ ।

बुधबार राति भएको आगलागीले  केशव पाठकको टिनको छानो, चित्राको बेरा भएको एकतले कच्चीघर  पूर्ण रूपमा जलेको छ । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको थियो ।

सुझावित समाचार