राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा ३ सिटका लागि ६ जनाको उम्मेद्वारी

मंगलबार, २० पुष, २०७८
डिजिटल संस्करण

गण्डकीमा तीनजना राष्ट्रिय सभा सदस्यका लागि  ६ जनाको उम्मेद्वारी परेको छ । दलित, महिला र अन्य समूहमा एक–एक सदस्यका लागि एमालेका तीन तथा सत्तारुढ गठबन्धनका तर्फबाट तीनजनाले उम्मेद्वारी दिएका हुन् । एमालेको तर्फबाट मिहिलामा लिला पोखरेल थनेत, अन्यमा पुण्यप्रसाद बौडेल र दलितमा अर्जुनकुमार सुनामले उम्मेद्वारी दर्ता गरेका छन् । 

सत्तारुढ गठबन्धनको तर्फ कांग्रेसबाट महिलामा कमला पन्त, अन्यमा माओवादी केन्द्रबाट सुरेशकुमार आलेमगर र दलितमा माओवादी केन्द्रबाटै भुवन सुनारले उम्मेद्वारी दिएको गण्डकी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । 

राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी १२ माघमा हुँदैछ । त्यसका लागि मंगलबार सबै प्रदेशहरूमा मनोनयन दर्ता सकिएको छ ।

यस्तो छ गण्डकीको मतभार 
राष्ट्रियसभा निर्वाचनमा प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख मतददाता हुन् । गण्डकीमा जम्मा पाँच हजार ७६८ मतभार रहेकामा एमालेको दुई हजार ५३८ र सत्तारुढ गठबन्धनको मतभार ३ हजार ३ सय ३६ छ । मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ पनि गठबन्धन सरकारमै मन्त्री छन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ । 

८५ स्थानीय तहको १ सय ७० सिटमध्ये अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयर गरी ७० जना र ६० सदस्यीय प्रदेश सभामा २७ जना प्रदेश सभा सदस्य एमालेका छन् । 

स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपप्रमुख शर्मिला पौडेल क्षेत्रीले मात्र नेकपा (एकीकृत समाजवादी) मा छिन् । एकीकृत समाजवादीको मतभार गण्डकीमा १८ मात्रै छ । 

गण्डकीमा ५ दलीय गठबन्धनमा कांग्रेस २१९६, माओवादी ७९२, जनता समाजवादीको ९६, राष्ट्रिय जनमोर्चा १५० र एकीकृत समाजवादीको १८ मतभार छ । 

पाँच दलीय गठबन्धनसँग एमाले ६९६ मतभारले पछाडि छ । बागलुङ नगरपालिकाको उपप्रमुख र म्याग्दी बेनी नगरपालिकाको उपप्रमुखमा राप्रपाले जितेको छ ।

स्थानीय तहको निर्वाचन हुँदा २ जनाले स्वतन्त्र रुपमा जितेका थिए । तर, स्वतन्त्र चुनाव जितेका मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा पछि कांग्रेस प्रवेश गरे भने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छेप्तेन गुरुङ एमाले प्रवेश गरेका छन् ।

सुझावित समाचार