हिमाली जिल्लाहरूमा बाक्लो हिउँ परेको छ । पुस महिनाको कठ्यांग्र्रिदो चिसो बढेको छ । उच्च हिमाली डाँडा तथा चुचुराहरू सेताम्मे हिउँले ढाकिएका छन् । तापक्रम माइनस १३ देखि माइनस १५ डिग्री सेल्सियसमा झरेको छ । हिँड्ने गोरेटाहरू हिउँले पुरिएर बरफमा परिणत भएका छन् । सलसल बग्ने खोलानालाहरू बरफ जमेर मृत अवस्थाका जस्तै बनेका छन् । तर, कठ्यांग्रिने चिसोको परवाह नगरी हिउँका डल्ला फुटाउँदै ३२ सय मिटरको उचाइमा रहेको मुगुको चंखेली हिमालदेखि हुम्लाको सातथाप्ले खण्डमा सयौँ स्थानीय महिला–पुरुष सडक खनिरहेका छन् ।

घरखर्च र बालबच्चाको सुन्दर भविष्यका लागि आर्थिक जोहो गर्न महिनौँदेखि जंगलमै पाल टाँगेर मुगु र हुम्लाका सर्वसाधारण सडक खन्ने काममा उनीहरू जुटेका छन् । बेलायत सरकारको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत मुगुको रेडक्रसदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक जोड्न ०७५ पुसदेखि निरन्तर निर्माण कार्य चलिरहेको छ ।
बाबजुद चंखेली–सातथाप्ले खण्डमा यतिवेला धमाधम सडक निर्माण कार्य भइरहेको छ । चंखेली हिमालदेखि सातथाप्लेसम्मको जंगलभरि दुई सयको हाराहारीमा हरिया, नीला, पहेँला प्लास्टिक त्रिपालले यत्रतत्र छरिएकाजस्ता देखिन्छन् । त्रिपालभित्र सडक निर्माणमा खटिएका मुगु र हुम्लाका स्थानीयहरू रात काट्ने गर्छन् । गत वैशाखदेखि मुगु र हुम्लाका विभिन्न ठाउँबाट स्थानीयहरू सडक निर्माण कार्यमा निरन्तर लागिपरेका छन् । उनीहरूलाई न बर्खाको बाढीले छेकेको छ, न त पुसको हिउँले रोकेको छ ।
यतिवेला उक्त सडकका विभिन्न खण्डमा एक हजार चार सय ६० जनाले निरन्तर सडक निर्माण गरिरहेका छन् । ७३ वटा समूहमा विभाजित प्रत्येक समूहमा आधा संख्या महिलाको रहेको ग्रामीण पहुँच कार्यक्रमका फिल्ड व्यवस्थापक विष्णुराम विष्टले जानकारी गराए । यो पुसको सिरेटोमा करिब ४९ प्रतिशत महिलाको सडक निर्माणमा दैनिक सहभागिता रहेको उनले बताए ।
‘सडक निर्माण कार्यमा हिउँदको चिसो र बर्खाको बाढीको कुनै परवाह नगरी यहाँका जनता र हामी कर्मचारी निरन्तर जुटेका छौँ,’ विष्टले भने, ‘यस कार्यले सडक निर्माणको काम निर्धारित समयमै सम्पन्न हुनुका साथै जनताको आर्थिक विकासमा समेत सहयोग पुग्ने देखिएको छ ।’
सडक खन्न नौ महिनादेखि जंगलमै वास
हिउँ छिचोलेर सडक निर्माण गर्दै मजदुर ।
छायाँनाथ रारा नगरपालिका– १४ बाम गाउँकी धर्मशीला बुढा गत वैशाखदेखि जंगलमै पालमा बसेर सडक खनिरहेकी छिन् । उनले वैशाखयता दसैँमा मात्रै घर गएको र पुनः सडक निर्माणमै जुटेको बताइन् । उनी यो पुसको माइनस १५ को तापक्रमा पनि प्लास्टिकको पाल हालेर लगातार सडक निर्माणमा जुटेकी छिन् । सडक निर्माण सुरु भएदेखि करिब चार वर्षयता लगातार सडक खन्ने काममा लागेको उनले बताइन् ।
‘यो सडक निर्माणले ग्रामीण गाउँबस्तीमा विकास मात्र होइन, हामी सयौँ महिलालाई दैनिक रोजगारीमासमेत जोडेको छ,’ बुढाले भनिन् । यो सडक निर्माण कार्य सुरु भएयता चार लाखभन्दा बढी कमाइ गरेको पनि उनले बताइन् । ‘पैसा कमाउन सजिलो कहाँ छ र ? पुसको चिसो भन्न पनि मिल्दैन, बर्खाको झरी भन्न पनि मिल्दैन,’ बुढाले भनिन् ।
छायाँनाथ रारा नगरपालिका– १४ कै सुन्तला बुढा पनि वैशाखदेखि जंगगलमै पालमा बसेर सडक खन्ने काममा लागेकी छिन् । उनी पनि यतिवेला चंखेली हिमालभन्दा तलको जंगलमा सडकको काम गर्दै छिन् । उनी मात्रै होइन, उनका श्रीमान् पनि सडक खन्ने काममै छन् । उनीहरूले पनि सडक निर्माण कार्य सुरु भएपछि दसैँमा मात्रै घर गएको बताए । दसैँ मनाएर पुनः सडक निर्माणकै कार्यमा जुटेको उनीहरूले बताए । पुसको ठण्डीमा दिनरात नभनी निरन्तर सडक खनिरहेका एक हजार चार सय ६० कामदार जंगलमै पाल हालेर बसेका छन् । जसमा ४९ प्रतिशत महिला छन् ।
मुगु र हुम्लाका महिला निरन्तर सडक खन्दै
मुगु–हुम्ला जोड्ने सडक निर्माणमा कार्यरत महिला बिहीबार खाना पकाउन बरफ फुटाएर पानीको जोहो गर्दै ।
सडक निर्माण सुरु भएदेखि हालसम्म मुगु र हुम्लाका हजारौँ सर्वसाधारणले नियमित रोजगारी पाएका छन् । दर्जनौँ गाउँबस्तीबाट सडक निर्माणमा स्थानीयको लाम लागेको छ । सधैँ चुलोचौकोमा सीमित हुने र आर्थिक रूपमा श्रीमान्को भर पर्ने गरेका महिलाहरू घरछेउमै कमाइ गरिरहेका छन् । ज्याला–मजदुरीका लागि भारतको सिम्ला तथा हिमाञ्चल र खाडीका देशहरू धाउने पुरुषहरू घर–आँगनमै लाखौँ कमाइ गरिरहेका छन् । त्यसैले पनि उनीहरूलाई माइनस १५ डिग्री सेल्सियसको चिसोले छुन सकेको छैन ।
हरेक कामदारलाई चोटपटक लागे उपचारका लागि औषधि र स्वास्थ्यकर्मीको टोलीसमेत व्यवस्था गरिएको छ । कामदारको चोटपटकका कारण मृत्यु भएको खण्डमा पाँच लाखसम्मको दुर्घटना बिमाको समेत व्यवस्था गरिएको र प्रत्येक कामदारलाई हेलमेट, चस्मा, पञ्जा, जुत्तालगायतका सुरक्षाका सामग्री उपलब्ध गराइएको छ ।
सडक खुलेदेखि लगातार चार वर्ष काम गरेर चार लाखभन्दा बढी कमाइ गरेको छायाँनाथ रारा नगरपालिका– १३ लुम गाउँका ५४ वर्षीया केशरसिंह कामीको भनाइ छ । ‘ज्याला–मजदुरीका लागि हिउँदको समयमा भारतको नैनीताल, हिमाञ्चल जाने गर्थेँ,’ उनले भने, ‘यो ग्रामीण पहुँच कार्यक्रम सुरु भएदेखि भारत जान छुटेको छ ।’ सडक निर्माण पूरा भएपछि मुगुका रुगा, लुम, बाम, दर्खे र फोइपाटालगायतका गाउँबस्तीका स्थानीय लाभान्वित हुनेछन् भने हुम्लाका चंखेली, सर्केगाड, खार्पुनाथ र सिमिकोट गरी चार गाउँपालिकाका स्थनीयलाई सहज हुनेछ । ०७९ वैशाखसम्म निर्माण सम्पन्न गरी जेठमा प्रदेश सरकारलाई सडक हस्तान्तरण गरिने योजना रहेको छ ।