कांग्रेसमा देउवाको सुस्त सुरुवात, पदाधिकारीले अझै पाएनन् जिम्मेवारी

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण

३३ केन्द्रीय सदस्य मनोनयन, प्रवक्ताको जिम्मेवारी र कोषाध्यक्ष चयनको काम पनि बाँकी 

कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यसम्पादन नै सुस्त देखिएको छ । निर्वाचित कार्यसमितिले पूर्णता पाएको एक सातासम्म पनि सभापति देउवाले पदाधिकारीको कार्यविभाजनलगायत काम टुंग्याउन सकेका छैनन् । १४औँ महाधिवेशनबाट देउवा पार्टीमा थप शक्तिशाली भएका छन् । 

निर्वाचित कार्यसमितिले पूर्णता पाएपछि सभापति देउवाले १० पुसमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । १५ मिनेट मात्र बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्नेसहितका चार निर्णय गरेर नेताहरूको जिम्मेवारीको विषयमा प्रवेश गरेको थिएन । 

कांग्रेस विधानले सभापतिलाई आफूबाहेकका १२ पदाधिकारीको कार्यविभाजन र आवश्यकताअनुसार जिम्मेवारी हेरफेरको अधिकार दिएको छ । तर, सभापति देउवाले सभापतिपछिको दोस्रो कार्यकारी पद महामन्त्रीको समेत कार्यविभाजन टुंग्याएका छैनन् । १४औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा र गगन थापा महामन्त्रीमा निर्वाचित भएका छन् ।

कांग्रेस विधानको दफा २५ (४) मा सभापतिलाई केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्यविभाजन गर्ने, जिम्मेवारी हेरफेर गर्ने र प्रवक्ता तोक्ने अधिकार दिएको छ । तर, विधानले दिएको अधिकार प्रयोग गरेर सभापति देउवाले कार्यविभाजन र जिम्मेवारी तोकेका छैनन् । 

विधानमा उपसभापतिले सभापतिको अनुपस्थितिमा जिम्मेवारी पाउँछन् । विधानको दफा ३६ मा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको व्यवस्था गरेको छ । दफा ३६ (क)मा रहेको व्यवस्थाअनुसार सभापतिले तोकेको केन्द्रीय कार्यसमितिका उपसभापति प्रतिष्ठानको प्रमुख रहने व्यवस्था रहेको छ । कांग्रेसमा वैचारिक प्रशिक्षण दिने प्रतिष्ठानलाई महŒवपूर्ण विभागका रूपमा हेरिन्छ । यसका लागि सभापतिले एक उपसभापतिलाई जिम्मेवारी दिनुपर्ने हुन्छ । महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन् । 

विधानले महामन्त्रीलाई केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालनदेखि केन्द्रीय महाधिवेशन, केन्द्रीय कार्यसमिति तथा अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्नेसहितका १२ जिम्मेवारी तोकेको छ । दुई महामन्त्रीको कार्यविभाजन नहुँदा आठ सहमहामन्त्रीको जिम्मेवारीसमेत टुंगो लाग्न सकेको छैन । विभिन्न क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित भएका छन् । विधानले उनीहरूको जिम्मेवारीबारे बोलेको छैन ।

महामन्त्री शर्माले कार्यविभाजन र जिम्मेवारीको विषयमा केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा छलफल नभएकाले केही ढिलाइ भएको बताए । उनले छिटै यसबारेको निष्कर्षमा पुग्ने जानकारी दिए । ‘केन्द्रीय कार्यसमितिको बैठक एकपटक मात्रै बसेको छ,’ महामन्त्री शर्माले नयाँ पत्रिकासँग भने, ‘पहिलो बैठक राष्ट्रिय सभा निर्वाचनसँग सम्बन्धित निर्णयमा केन्द्रित हुनुपर्ने अवस्था थियो । त्यो बैठकमा जिम्मेवारीबारे छलफल हुन पाएन । अब यो विषय टुंगो लाग्छ ।’

कांग्रेस सहमहामन्त्री जीवन परियार कार्यविभाजनका सन्दर्भमा कुनै निर्णय भइनसकेको बताउँछन् । उनले कार्यविभाजनबारे आगामी कार्यसमिति बैठकमा छलफल हुने बताए । तर, हालसम्म आगामी बैठकबारे टुंगो लागेको छैन । ‘कार्यविभाजनका सन्दर्भमा पार्टीमा अहिलेसम्म कुनै निर्णय भएको छैन । पदाधिकारीका लागि कतिपय अधिकार विधानले व्यवस्था गरेको छ । कतिपय नलेखिएका विषयमा केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेर जिम्मेवारी दिन सक्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘सहमहामन्त्रीको विषयमा विधानमा स्पष्ट व्यवस्था छैन । महामन्त्रीको कार्यविभाजनपछि सहमहामन्त्रीको टुंगो लाग्ने विषय भयो । आगामी कार्यसमिति बैठकमा स्वाभाविक रूपमा यो छलफलको विषय बन्नेछ ।’ 

कांग्रेस महाधिवेशनअनुसार २७ मंसिरमा मतदान भएको थियो । २ पुसमा सहमहामन्त्रीतर्फको मतपरिणाम सम्पन्न भएसँगै सभापतिसहित १३ जना पदाधिकारी निर्वाचित बनेका थिए । तत्पश्चात् एक सय २१ केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । केन्द्रीय सदस्यतर्फको अन्तिम मतपरिणाम भने ८ पुसमा आएको थियो । यससँगै एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिले पूर्णता पाएको थियो । 

आज ४६औँ मेलमिलाप दिवस
आज ४६औँ मेलमिलाप दिवस मनाइँदै छ । कांग्रेसले विभिन्न कार्यक्रमका साथ मेलमिलाप दिवस मनाउने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाको निर्देशनमा ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमका साथ मनाउन निर्देशन दिइएको छ । कांग्रेसले ०३३ पुस १६ गते कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायतका नेताहरू आठ वर्ष भारतमा निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।

नेताहरूको वरीयता क्रम : पदाधिकारी, पूर्वपदाधिकारीपछि शेखर

कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूको केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूको वरीयता क्रम निर्धारण गरेका छन् । महाधिवेशनपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट निर्धारण भएको वरीयता क्रम बिहीबार सार्वजनिक भएको छ । 

सभापति देउवाले एक सय ३५ सदस्यीय कार्यसमितिको वरीयता क्रम निर्धारण गरेका हुन् । सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुरका अनुसार सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सभापतिमा पराजित नेता र त्यसपछि केन्द्रीय सदस्यहरू रहने गरी केन्द्रीय कार्यसमितिको वरीयता क्रम निर्धारण गरेका हुन् । 

वरीयता क्रममा सभापतिमा पराजित बनेका डा. शेखर कोइरालालाई २०औँ नम्बरमा राखिएको छ । कांग्रेस विधानले सभापतिमा दोस्रो मत पाउने व्यक्ति स्वतः केन्द्रीय सदस्य बन्ने व्यवस्था गरेको छ । त्यसैअनुसार सभापति देउवाले कोइरालालाई केन्द्रीय कार्यसमितिमा पदाधिकारी र पूर्वपदाधिकारीपछिको वरीयतामा राखेका छन् । 

केन्द्रीय कार्यसमितिमा एक सय ३४ जना निर्वाचित भएका थिए । यसबाहेक ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ । मनोनीत गर्दा केन्द्रीय सदस्यमा पूर्वपदाधिकारी थप भएको अवस्थामा पदाधिकारीबाहेकका कार्यसमितिका सदस्यहरूको वरीयता परिवर्तन हुने सहमहामन्त्री मन्सुरले नयाँ पत्रिकालाई जानकारी दिए ।

सुझावित समाचार