कांग्रेस प्रदेश २ मा संस्थापन समूहकै दबदबा

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा देखिएको छ। निर्वाचित ७२ जना प्रदेश कार्यसमितिमा ७ जना मात्रै संस्थापन इतरसमूहका (निधि–कोइराला समूह) उम्मेदवार निर्वाचित भएका छन्। सभापतिसहित ९ जना पदाधिकारीमा संस्थापन पक्षका सबै उम्मेदवार निर्वाचित भएका छन्।

सभापतिमा कृष्णा यादव, उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रखेर यादव, महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकुमार श्रेष्ठ, सहमहामन्त्रीमा जयनारयण यादव र पशुराम चौधरी, महिलातर्फ सहमहामन्त्रीमा बिन्दु यादव विजयी भएकी हुन्। यी सबै पदाधिकारी संस्थापन पक्षका उम्मेदवार रहेका थिए। 

त्यसैगरी, खुलासहित विभिन्न क्लस्टरमा ५६ सदस्यहरूका लागि निर्वाचन भएको थियो भने ५ जना विभिन्न क्लस्टरमा निर्वाचित भएका थिए। निधि– कोइराला समूहका सदस्यमा जीवनाथ चौधरी,सरोजकुमार यादव, रेखाकुमारी यादव, अच्छेलाल यादव, नितु झा, बिन्दाकुमारी पासवान र मो.तालअली अन्सारी विजयी भएका हुन्। बाँकी सबै संस्थापन समूहकै उम्मेदवारहरू विजयी भएका छन्।

श्रेष्ठले ल्याइन् लोकप्रिय मत 
कांग्रेसको प्रदेश २ अधिवेशनमा क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना श्रेष्ठ माथेमाले लोकप्रिय मत प्राप्त गरेकी छिन्। महिला खुलातर्फ सदस्य पदमा उम्मेदवारी दिएकी श्रेष्ठले अधिवेशनमा सबैभन्दा बढी १ हजार ९७ मत ल्याएकी हुन्। १ हजार ९ सय ८० जना मतदाता रहेकामा १ हजार ८ सय ८१ जनाले मतदान गरेका थिए। केही वर्षअघि नेपाली कांग्रेसको महिला भातृ संगठनको महाधिवेशनमा उनी पराजित भएकी थिइन्। 
 

सुझावित समाचार