२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन
१. विषय प्रवेश
आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ। जनताको लामो, सशस्त्र एवं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ। समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्टाउन, निरंकुश तत्वहरूले टाउको उठाइरहेका छन्। विभिन्न नाम र रूपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो छ। देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेका छन्।
निश्चय नै उपरोक्त प्रकारको प्रतिगामी र निरंकुश प्रवृत्ति र तत्वहरूका विरुद्ध संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा पनि नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको छ। नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान र राष्ट्रिय स्वाधीनताका पक्षमा स्पष्ट र दृढ रहेको तथ्य प्रतिगमनविरोधी आन्दोलनमा व्यापक जनसहभागिताले स्पष्ट गरेको पनि छ। वाम–लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तात्कालीन र कार्यनीतिक रूपमा देशी–विदेशी प्रतिक्रियावादीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको योजना असफल भएको छ। तर, रणनीतिक रूपमा प्रतिक्रान्तिकारी षड्यन्त्रका नयाँ–नयाँ तानाबाना बन्ने षड्यन्त्र भने रोकिएको छैन। स्वतः यो स्थिति भनेको नेपाली समाजमा विद्यमान वर्गसंघर्षकै राजनीतिक अभिव्यक्ति हो।
यो ऐतिहासिक रूपले अन्ततः वाम–लोकतान्त्रिक शक्तिले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो पार्न आफ्नो राजनीतिक मुद्दालाई दृढताका साथ जनसमुदायमा स्थापित गर्न तथा आफ्नो आचरणलाई जनहितअनुकूल बनाउन अझ जोड गर्नुको विकल्प छैन।
यस सन्दर्भमा स्पष्ट हुनुपर्दछ कि महान् जनयुद्ध र ऐतिहासिक संयुक्त जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा, समावेशी, समानुपातिक प्रतिनिधित्व प्रणाली, धर्मनिरपेक्षतासहित संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख बाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ। तर, केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखा परेको वैचारिक–राजनीतिक अस्पष्टता संगठनात्मक विभाजन एवं गुटवादी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकिरहेका छैनौँ। यसको परिणाम, दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउने अवसर पाइरहेका छन्। यसको विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्दै सही विचार र राजनीतिक कार्यदिशाको विकास गर्ने तथा तदनुकूल संगठनात्मक संरचना एवं कार्यशैलीको विकासका लागि सर्वाधिक जोड दिनुपर्नेछ।
आज राष्ट्रिय राजनीतिदेखि कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव हो भन्ने तथ्यलाई आत्मसात् गरिनुपर्दछ। विचारधारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले मात्रै नभएर अन्तर्राष्ट्रिय आयामबाट समेत हेर्नुपर्दछ । वित्तीय पुँजीवादका रूपमा व्यक्त भइरहेको भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पादन सम्बन्धको वस्तुवादी आकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, राजनीतिक र सामाजिक विकासको ठोस अवस्थालाई ठोस रूपमा विश्लेषण र संश्लेषण गरेर मात्र विचारमा विकास र स्पष्टता हासिल गर्न सकिन्छ । विकासको वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारा र राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रूपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौती हाम्रो अगाडि छ।
२१औँ शताब्दीमा विश्वकै पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताका हैसियतले जनतामा रहेको कम्युनिस्ट आन्दोलनप्रतिको भरोसाका दृष्टिले तथा विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूका बीचको अन्तरविरोधको केन्द्रीकरणको विशेष स्थितिसमेतका कारण क्रान्तिकारी विचार, पार्टी र आन्दोलनको विकासको अवसर र चुनौती दुवै हाम्रा अगाडि छन्। विगतको निर्मम आत्मसमीक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविष्यको स्पष्ट रूपरेखा खिच्न सकिन्छ। हाम्रो यो आठौँ राष्ट्रिय महाधिवेशनले आफ्नो मुख्य ध्यान विचार संश्लेषणको त्यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ। महान् जनयुद्ध, ऐतिहासिक संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत सम्पूर्ण उत्पीडित समुदायका आन्दोलनका अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली, बेपत्ता एवं घाइते योद्धाहरूप्रति हार्दिक सम्मान गर्दै र उहाँहरूका परिवारजनप्रति सम्मानसहितको यो ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशन सहिदहरूको सपना पूरा गर्न निरन्तर अगाडि बढ्ने प्रतिज्ञा गर्दछ।